काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको तर ओली मात्र विरोधमा रहेको जनाएका छन् ।
ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै उनले ओली मात्र एकताको पक्षमा नदेखिएको जनाएका हुन् । नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको स्वीकारेका गौतमले पार्टी विभाजित भएर दुई धार बनिसके पनि आफ्नो एकता अभियान नरोकिने जनाएका छन् ।
उनले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको भए पनि अझै कानुनी रुपमा नफुटेको बताए। निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो भन्दै उनले देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुटेको बताए। गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे।