काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । सरकारले संविधान मिचेकाले अझै ठूलो जनआन्दोलन हुने उनको भनाई छ ।
बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताए । उनले भने, ‘लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन् ।’
उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए । ‘जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो’ उनले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो ।’ संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए ।