एमालेमा खोसियो माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी

काठमाडौं २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका छन् । केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएको ओलीले आफ्नो समूहको बैठक राखेर महासचिवबाहेकका सबै पदाधिकारीलाई हटाएका छन् । ओलीले प्रदेश इन्चार्जहरु हेरफेर गर्दै माधव पक्षधरकालाई पदमुक्त गरेका छन् ।

ओली पक्षधर नेताहरुको बैठक बसेर बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशको इन्चार्जबाट भिम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यस्तै, प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल जिम्मेवारी दिइएको छ । प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् । ओली पक्षधर नेताहरुको बैठकले बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेका छन् । उक्त निर्णयप्रति माधव पक्षले भने कडा रुपमा विरोध जनाएका छन् ।