काठमाडौं । नेकपा एमालेभित्रको विवाद उस्तै देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षबीच सोमबार छलफल भएपनि सहमतिको कुनै वातावरण संलग्न सकेन ।
सोमबार दुवै पक्षका नेताहरु सम्मिलित छलफलमा माधव नेपाल झलनाथ खनाल पक्षधरले अध्यक्ष ओली पक्षले एकलौटी रुपमा गरेका निर्णयहरु खारेज गरेर सहमति कायम गर्न माग गरेका थिए । तर, ओली पक्ष त्यसमा सहमति हुन सकेन । ओली पक्षका नेताहरुले माधव झलनाथ समूहलाई राष्ट्रिय भेला रोक्न अनुरोध गरेका थिए । उनीहरुले पनि समस्या अध्यक्ष ओलीले नै थालनी गरेको भन्दै सबैभन्दा पहिले निर्णय सच्याउनुपर्ने बताएका थिए ।
एमाले उपाध्यक्ष भिम रावलले बैठकमा एकलौटी रुपमा आफूहरुलाई थाहा नै नदिई गरेका निर्णयहरु सच्याउन माग गरेको तर ओली पक्षहरु त्यसमा सहमत नभएको जानकारी दिए । यसअघि, ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी हटाउने, प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका थिए । त्यसको माधव झलनाथ समूहका नेताहरुले विरोध गर्दै आएका छन् भने राष्ट्रिय भेला समेत बोलाएका छन् ।