महान्यायाधिवक्ता खरेलले दिए राजीनामा, अब बडाल नयाँ महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । संसद विघटनको मुद्धामा सर्वोच्च अदालतमा राम्रोसँग सरकारको बचाउ गर्न नसकेपछि प्रधानमन्त्रीसँग विवाद बढेसँगै उनले राजीनामा दिने मनस्थिति बनाएको यसअघि बताइएको थियो ।
उनलाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेको थियो । २०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुन मन्त्री थिए । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए ।
यता, उनको राजीनामासँगै रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।