प्रभू बैंक सञ्चालक समिति अध्यक्षको पदभार ग्रहण

प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार लिएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सोमबार बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरेर उनले पदभार लिएका हुन्।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई वैशाख १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो पदमा चयन गरेको थियो। त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर उपाधी हासिल गरेका उनले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्य अनुभव लिइसकेका छन्।

उनी नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरेर कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भए। सिटौला कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत रहे। उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको छ।

सोही अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रहेर काम गरे। बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा पनि काम गरिसकेका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।