Saturday, September 26, 2026
17.1 C
Kathmandu
Home मुख्य समाचार झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए । बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने रु १० कर लाग्नेछ ।

मठमन्दिर प्रवेशमा रोक

बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ ।

आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए । यस्तै बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ कार्कीले जानकारी दिए । मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै वडा नं १२, १३ र १४ मा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । बागलुङ –१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो ।

मन्दिर पुनःनिर्माण

चन्दा सङ्कलन गरी बागलुङ–८ सिगानाको एक मन्दिर पुनःनिर्माण गरिएको छ । साँयकोटमा रहेको २०० वर्ष पुरानो कमलजैशीको मन्दिर पुनःनिर्माण गरिएपछि मङ्गलबार उद्घाटन गरिएको छ । मन्दिर योगमाया गौतमको नेतृत्वमा ३० वर्ष अघि पुनःनिर्माण गरिए पनि पहिराका कारण भत्केपछि अहिले पुनःनिर्माण गरिएको हो । स्थानीयवासीका सक्रियतामा चन्दा सङ्कलन गरी निकै जीर्ण मन्दिरको पुनःनिर्माण गरी उद्घाटन गरिएको कमलजैशी मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिए । रु चार लाख लागतमा मन्दिरलाई आधुनिक शैलीमा पुनःनिर्माण गरिएको हो । ढुङ्गामाटाले निर्मित मन्दिर भत्केपछि ढलान गरी पक्की बनाइएको हो ।

बागलुङ–८ वडा कार्यालयबाट रु एक लाख, बुछुङ–सल्लेरी सामुदायिक वनबाट रु २५ हजार, सिर्जनशील स्वास्थ्य आमा समूहबाट रु २१ हजार १११, कायमारे सामुदायिक वनाबट रु १० हजार, नगरपालिकाबाट रु १० हजार र अन्य स्थानीयवासीबाट चन्दा सङ्कलन गरी रु चार लाखभन्दा बढी खर्चेर मन्दिर पुनःनिर्माण गरिएको हो । मन्दिर उद्घाटनका अवसरमा शिव खड्का र अर्जुन खड्काले अग्रज अभिभावकका सम्झनामा घण्ट स्थापना गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।