काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर मंगलबार साँझ नै पदभार ग्रहण गरे । पदभार ग्रहणपछि बसेको वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिएका छन् ।

सरकारले कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय भएको छ । मन्त्रीपरिषदले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने निर्णय भएको छ । बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ भने सरकारको प्रवक्तामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।