भदौ २४ । नेकपा माओवादीले द्वन्द्वकालीन मुद्दालाई व्युँताएर गरिने गतिविधि बन्द गर्न सरकारलाई आग्रह गरेको छ ।

माओवादीको राजधानीमा सम्पन्न पोलिटब्यूरो बैठकले फुजेलको द्वन्द्वकालीन मुद्दालाई व्युँताएर काठमाडौंबाट रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेको तथा अरु थुप्रै माओवादी नेता तथा कार्यकर्ताहरुका विरुद्धमा वारेन्ट काट्ने, खानतलासी गर्ने र आतङ्कित पार्ने कार्यहरु सरकारले गरिरहेको भन्दै त्यस प्रकारका गतिविधिहरु बन्द गर्न, गिरफ्तार गरिएका बन्दीहरुलाई रिहा गर्न र युद्धकालीन मुद्दाहरु खारेज गर्न सरकारसँग माग गरेको छ ।

बैठकपछि पार्टी महासचिव राम बहादुर थापाले जारी गरेको विज्ञप्ति यस्तो छः

प्रेस नोट

यही भदौ २३ र २४ गते नेकपा–माओवादीको पोलिटव्यूरोको बैठक बसी निम्न निर्णयहरु लिइएको व्यहोरा जानकारी गराइन्छ ।
१) विद्यमान संक्रमणकालीन अवस्थामा मुलुकको अगाडि खडा रहेका संविधान निर्माण र निर्वाचन लगायतका मुद्दाहरु सम्बोधन गर्नका लागि राजनीतिक दलहरुको बिचमा राष्ट्रिय सहमति कायम गर्न अनिवार्य रुपमा आवश्यकता छ । बैठकमा राष्ट्रिय सहमतिको लागि विद्यमान सबै राजनीतिक दलहरुको बिचमा गोलमेच सभाको आयोजना गर्ने, गोलमेच सभाबाट हाम्रो पार्टी समेत ३३ दलीय मोर्चाले प्रस्तुत गरेको १८ बुँदे प्रस्तावलाई सम्बोधन गर्न जोड दिने र त्यसको लागि वार्तालाई निरन्तरता दिने निर्णय लिइएको छ ।
२) यथास्थितिमा हुने भनिएको निर्वाचनको विरोध गर्दैैै राष्ट्रिय सहमति कायम गर्न हाम्रो पार्टी समेत ३३ दलीय मोर्चाबाट असोज ९ र १० गतेसम्मका नेपालबन्द लगायतका आन्दोलनका कार्यक्रमहरुलाई सफल पार्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय लिइएको छ ।
३) हालै सर्वोच्च अदालतका का.मु प्रधानन्यायाधीश समेतको इजलाशबाट ४ दलको सिफारिशमा सम्माननीय राष्ट्रपति ज्यूबाट वाधाअड्काउ फुकाउगरी जारी गरिएको २५ बुँदे आदेश र प्रधानन्यायाधीशको नेतृत्वमा गठित सरकारका विरुद्ध परेका संवैधानिक व्याख्या सम्बन्धी १७ वटा रिट निवेदनहरुलाई न्यायसम्पादनको आधारभूत मान्य सिद्धान्त विपरीत सामान्य सुुनुवाइसम्म पनि नगरी गरिएको खारेजीको आदेश सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस परिघटनाबाट प्राप्त लोकतान्त्रिक अधिकारहरुको अपहरणका साथै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिंदा स्वतन्त्र भनिएको न्यायालय समेत कति प्रभावित हुँदोरहेछ भन्ने यथार्थताको समेत पुष्टि भएको छ । अतः त्यसप्रकारको आदेशको विरोध एवं भत्र्सना गर्दै उक्त आदेशलाई कानूनसम्मत ढङ्गले सच्चाइयोस् भनी माग गर्ने निर्णय लिइएको छ ।
४) हालै गोरखा फुजेलको द्वन्द्वकालीन मुद्दालाई व्युँताएर काठमाडौंबाट रामप्रसाद अधिकारीलाई गिरफ्तार गरिएको छ भने अरु थुप्रै माओवादी नेता तथा कार्यकर्ताहरुका विरुद्धमा वारेन्ट काट्ने, खानतलासी गर्ने र आतङ्कित पार्ने कार्यहरु सरकारले गरिरहेको छ । अतः त्यस प्रकारका गतिविधिहरु बन्द गर्न, गिरफ्तार गरिएका बन्दीहरुलाई रिहा गर्न र युद्धकालीन मुद्दाहरु खारेज गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरिएको छ ।
मिति ः– २४ भाद्र २०७०

… … … … … … …
क. रामबहादुर थापा ‘बादल’
महासचिव

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।