भद्रपुर, १५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पारे ।
मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाए।
उनले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गर े।







