भदौ १ । राजनीतिमा रहँदा रहँदै कृषि व्यवसायमा समेत संलग्न रहेका नेपाली काँग्रेसका नेता गगन थापाले अनाज कृषि सहकारीमार्फत सहकारी अभियानमा लागेका छन् । थापा सहितका यूवाहरुले शुरु गरेको अनाज कृषि सहकारीको अध्यक्ष भने सविन तामांग रहेका छन् ।

स्वदेशमै व्यवसाय स्वदेशमै धन भन्ने नाराका साथ सहकारीको शुरुवात गरिएको हो । काठमाडौ, भकतपुर, ललितपुर, नुवाकोट र धार्दिग कार्यक्षेत्र रहेको सहकारीले काठमाडौ भित्र भने बचत तथा ऋण सहकारी कारोवाराको अनुमति पनि पाएको छ ।

कृषि उत्पादनका क्षेत्रमा लगानी गर्ने, कृषि उत्पादनमा कृषक र कृषक समुहसँग सहकार्य गरी अगाडी वढ्ने, कृषकहरुको उत्पादनलाई बजारीकरण गर्ने लगायतका उद्धेश्य राखि सहकारी शुरु गरिएको थापाले जानकारी दिए । हाल सहकारीले आफ्ना शेयर सदस्यहरुलाई स्वच्छ खानेपानी र स्वस्थ मासु उपलव्ध गराउँदै आएको छ । सहकारीले सुनखानी एकिकृत कृषी प्रालिसँग मिलेर एचएण्ड एच मासु पसल र माता मनकामना खानेपानी प्रालिसँग मिलेर स्वच्छ खानेपानी आपूर्ती गर्दै आएको छ ।

अनाज सहकारीले सरकारी गैरसरकारी तथा नीजि क्षेत्रसँग सहकार्य गरी स्वदेशी कृषि उत्पादनलाई स्थापित गर्ने र विदेशी आयातलाई प्रतिस्थापित गर्न प्रयत्न गर्ने कार्ययोजना तय गरेको छ । आगामी फागुन महिनाभित्र फलफुल मत्स्यपालन एवं कम्पोष्ट मलको सम्भाव्यता अध्ययन गरि काम शुरु गर्ने समेत बताइएको छ । संस्थाको असार मसान्तभित्र ४२ लाख ३१हजार २सय चुक्ता पूँजी रहेकोमा यो आर्थिक बर्षमा ३ करोड पुर्याउने लक्ष्य राखिएको अध्यक्ष तामागंले जानकारी दिए । उनले भदौ महिनाभित्र निशुल्क कृषक परामर्श केन्द्र संचालन गर्ने बताउनुभयो । नेपालमा उत्पादन हुने गहुँ, फापर, कोदो जस्ता खाद्य पदार्थबाट बन्न सक्ने खाजाका सामग्री उत्पादनको सम्भाव्यता अध्ययन गरी संभव भए उद्योग संचालन गर्ने पनि बताइएको छ ।

सहकारीको अभियानमा देखिएका विकृतीलाई पन्छाउँदै सहकारी अभियन्ताको रुपमा कृषकहरुसँग सहकार्य गरेर काम गर्न आफू यस क्षेत्रमा लागेको थापाले कार्यक्रममा बताए । थापाले यसअघी बाख्रापालन र मासुपसल खोलेर व्यवसाय शुरु गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।