असार २१ । विद्युतीय प्रसारण नियमावलीको धारा ४७ मा उल्लेख छ– ‘कम्प्युटर इन्टरनेट लगायतका विद्युतिय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैकिता, शिष्टचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेष फैलाउने वा विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
माथि उल्लेखित कानुन अनुसार फेसबुकमा त्यस्ता सामग्री लेख्ने व्यक्ति मात्रै होइन । लेखेकोमा लाइक, ट्याग तथा सेयर गर्नेहरु समेत कानुनको फन्दामा पर्ने छन् । तर धेरैले उक्त कानुन नै थाहा पाएका छैनन् । जो जसले फेसबुक तथा सामाजिक सञ्जाल चलाउँछन् उनीहरुले साइबर क्राइम बुझ्न आवश्यक छ । कुनै कारण कोही यो कानुनमा परेमा कानुन धेरै कडा रहेको छ प्रहरीको भनाई हो यो ।
केही समय अगाडी अनलाइनमा समाचार लेखेकै भरमा पाँच जना अनलाइन पत्रकारहरु पक्राउ परे । तर, उनीहरु नेपाल पत्रकार महासंघका जिम्मेवार व्यक्ति रहेकाले मात्रै उनीहरुको मुद्धा प्रेस काउन्सिले हेर्ने सर्तमा छुटे । तर अन्य कुनै अनलाइनका व्यक्ति त्यसरी पक्राउ परेका भए उनीहरुले धारा ४७ अनुसार सजायको भागीदार हुनैपर्ने थियो ।
नियमावलीको धारा ४७ खास गरेर बैंक ह्याक गरेर पैसा हिनामिना गर्ने । अरुको वेससाइटमा क्षति पुर्याउने ।
पासवर्डहरु चोरी गरी अनावश्यक कार्य गर्ने । अरुको तस्बीर बिगारेर जो व्यक्तिलाई सामाजिक जिवनमै अप्ठ्यारो पार्ने काम गर्ने लगायतका क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा राख्न बनाइएको कानुन भएपनि प्रहरीले भने मर्यादित तरिकाले सञ्चालन गरेका अनलाइन पत्रिकालाई समेत आफ्नो दायरामा ल्याएर ठिक पारिरहेको छ ।
तर, समाजमा नै घृणा फैलाउने, अहिलेको पुस्तालाई नै बिगार्ने तथा मनलाग्दी गर्नेहरुसम्म भने प्रहरी अहिलेसम्म पुग्न सकेको छैन ।
के हो त त्यस्तो ?
पछिल्लो पटक अनलाइन एड एजेन्सीहरु मार्फत ब्लग तथा अनलाइन साइटहरुलाई एडमा क्लिक भएको आधारमा पैसा आउने गर्दछ । क्लिक हुनका लागि जति धेरै भिजिटर आए त्यति नै बढी क्लिक हुने सम्भावना रहने भएपछि पछिल्लो पटक समाजमा नै प्रदूषित हुने गरी विभिन्न अज्ञात नाम र गोप्य स्थानबाट ब्लग तथा साइट खोलेर मन लाग्दी लेख्ने काम भईरहेको छ ।
यतिसम्म लेखिएको पाइन्छ की त्यो सामग्री कुनै दुई व्यक्ति बसेर समेत हेर्न नसकिने अवस्थाका रहेका हुन्छन् । जहाँ फलानोको भिडियो हेर्नुहोस् । सेक्स, पोर्न जस्ता छाडा शब्दहरु राखेर जो हेर्न यहाँ क्लिक गर्नुहोस् भनेर झुक्याउने काम भईरहेका छन् ।
उच्छृंखल, घृणादायी,
मनलाग्दी तथा अरुको चरित्र माथि समाजमा सिँधै असर पर्ने गरी गरिने त्यस्ता पोष्टहरुले सामाजिक सञ्जालहरु खोल्न पनि डर लाग्ने अवस्था निम्त्याएको छ । जसले गर्दा अनलाइन पत्ररिकारिताको छविमाथि नै गम्भीर धक्का समेत लागेको छ । त्यस्ता कन्टेन्टहरुले समाजमा वितृष्णा, घृणा, तिरस्कार मात्रै फैलाएको छैन । ठूला ठूला फेसबुक पेज बनाएर हजारौँको पहुँच हुने गरी त्यस्ता कुराहरु राखिएकाले यौनजन्य क्रियाकलाप गर्न समेत प्रोत्साहित गरिरहेको छ । यो क्रम यसरी नै बढेर जाने हो भने अबका पुस्ताहरुको दिमागमा नै खराब कुराहरु मात्रै भरिने भएकाले समाजमा अप्रिय घटनाहरु घट्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका विज्ञहरु चिन्तित हुन थालको छन् ।
- प्रहरीले चाहेको खण्डमा यस्ता जथाभावी राखिने फेसबुक पेज, ब्लग तथा साइटहरु डाईरेक्ट बन्द पनि गराउन सक्छ । त्यस्तै दुरसञ्चार कार्यालयमा भनेर खुल्नै नमिल्ने पनि बनाउन सक्छ । विभिन्न देशहरुमा यस्ता सामग्री खोल्नै नमिल्ने पनि बनाइएको छ ।
कसरी भईरहेको छ त त्यस्ता काम ?
खास गरी यो कार्य ब्लग तथा डोमिन रजिस्टर गरिएका साइटमा पोष्ट गर्ने र त्यसलाई प्रचार गर्न फेसबुक पेज बनाएर भईरहेको छ । फेसबुक पेज विभिन्न माध्यमहरुबाट ठूला ठूला संख्यामा बनाइएका छन् । तिनै पेजबाट यस्तो काम बढीरहेको छ ।
के भन्छ त प्रहरी ?
हनुमान ढोका साइबर क्राइम विभाग प्रमुख पशुपति राय यस्ता प्रचार गर्नेहरु जुन देश या जुन ठाउँमा भए पनि इन्टरपोलमा नाम राखेर भए पनि पक्राउ गर्न सकिने भन्दै यस्तो काम गर्नेहरुलाई सचेत हुन आग्रह गर्दछन् । दिनमा ५ देखि १० वटासम्म फेसबुकमै साइबर अपराधका घटना आफूसँग आउने गरेको र त्यसमा पासवर्ड ह्याकपछि पेजहरुबाट चरित्रहत्या गरिएका घटना बढी भएको बताउँछन् ।
साइबर क्राइम हनुमान ढोकाले अनलाइनमार्फत पैसा कमाउनका लागि र कतिपय भने कसैको चरित्र हत्या गर्ने नियतले पछिल्लो पटक त्यस्ता काम धेरै भईरहेको अनुसन्धानबाट खुलेको भन्दै त्यस्तो काम गर्ने कसैलाई पनि नछाड्ने जनाउँछ ।
पुलिसको भनाई मान्ने हो भने र त्यस्ता अनावश्यक कुराहरु लेख्नेहरु नसुध्रिएमा उनीहरुले १ लाखसम्म जरिवाना, पाँच वर्षसम्म जेल वा दुवै सजायको भागीदार बन्ने निश्चित जस्तै छ । अहिले प्रहरीले रिपोर्टका आधारमा मात्रै पक्राउ तथा कारबाही गर्दै आएको छ । अब भने आफैँ त्यस्ता गतिविधि हेरेर मुद्धा चलाउने तयारी समेत गरेको प्रहरीको भनाई छ ।




हो हो, छाडापन फैलाउनेहरुलाई कारबाही हुनुपर्छ ।
धेरै राम्रो लेख, यो काम छिटो भन्दा छिटो प्रहरीले गर्नु आबस्यक छ, जथाभाबी पेज बनाएर अर्काको चरित्र हत्या गर्न खोज्ने हरुलाई कडा कारबाही हुनु नै पर्छ /