जेठ १४ । नेपाल हिमाल सिमापार व्यापार वाणिज्य सङ्घले चीनबाट सामान आयात गर्दा सामानको तौललगायत विभिन्न तरिकाले नेपाली व्यापारीहरू ठगिँदै आएको भन्दै त्यसको समाधानका लागि नेपाल सरकार, चिनियाँ ट्रान्सपोर्ट कम्पनी र चिनियाँ दूतावाससँग आग्रह गरेको छ ।

सङ्घद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा तिब्बतको खासाबाट सामान आयात गर्दा बिलअनुसारको सामान पूरा नहुने, कम तौल हुने, हराएको सामान दाबी गर्दा बेवास्ता गर्नेलगायतका समस्याहरू नेपाली व्यवसायीले भोग्दै आएको सङ्घका अध्यक्ष नीलकण्ठ चौलागाईले बताए ।

सो माग राख्दै सङ्घले गरेको हडतालका कारण दुई सातादेखि तातोपानी नाकाको भन्सार बन्द रहेको छ । अनावश्यक शुल्क असुलीलगायतका समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग छलफल गर्दा माग पूरा नगरेकाले आयात बन्द गर्नुपरेको सङ्घले जनाएको छ ।

नेपाली व्यापारीले वार्षिक १२ हजार गाडी सामान आयात गर्दा करिब रु १० करोड अनावश्यकरूपमा थप बुझाउनुपरेको पनि सङ्घको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।