काठमाडौं २ असोज
एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले स्थानीय तह अन्तर्गत आज भईरहेको प्रदेश दुईको निर्वाचनमा मतपत्र पट्याउन नजानेको फोटो भाइरल बनेको छ ।
नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका थिए । तर उनले मतपत्र पट्याउने क्रममा भने उल्टो पट्याएर खसालेपछि त्यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कतिपयले पूर्वप्रधानमन्त्रीलाई मतपत्र कसरी पट्याउने भन्ने जानकारी नरहेको भन्दै व्यंग्य गरेका छन् । धेरैले मतदाता शिक्षाको अभावलाई नेपालसँग जोडेर फोटो पोष्ट गरेका छन् ।
नेपालले भने आफूले हानेको मत लतपतिने शंकाले जानी जानी उल्टो मतपत्र पट्याएको प्रतिक्रिया दिएका छन् ।
चुनावमा गरिने भोट गोप्य हुने गर्दछ । तर उल्टो मतपत्र पट्याउँदा आफूले गरेको भोट अरुले समेत देख्न सक्ने भएकाले यसलाई निर्वाचनमा सही मानिदैन । अझ पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सही तरिकाले मतपत्र पट्याएर सिकाउनुपर्नेमा आफैं उल्टो मतपत्र पट्याउन पुगेका हुन् ।
यसअघि, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पनि उल्टो मतपत्र पट्याएर खसालेका थिए । सो समयमा पनि चर्को व्यंग्य गरिएको थियो ।
Comments