पुस ७ – चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे भनेर चिनिएको हिंस्रक जङ्गली हात्तीलाई प्रजनन केन्द्रमा राख्न संरक्षणकर्मीहरूले माग गरेका छन् ।
चितवनको माडीमा गत शनिवार एक दम्पतीको ज्यान लिएपछि उक्त हात्ती मार्न चौतर्फी दबाब आइरहेका बेला संरक्षणकर्मीहरूले हात्तीलाई नमारी प्रजनन केन्द्रमा राख्नुपर्ने माग गरेका हुन् ।
नेपालकै एक मात्र हात्ती प्रजनन केन्द्र चितवनको सौराहामा रहेकाले उक्त हात्तीलाई प्रजनन केन्द्रमा राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
हात्ती मार्दा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने भएकाले हात्ती मार्नु उचित नहुने निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताछन् । उनले हात्तीलाई बस्तीमा जान नदिई दीर्घकालीन नियन्त्रणमा राख्नु आवश्यक रहेको बताएका छन् ।
अर्का संरक्षणकर्मी चराविज्ञ वासु विंडारी संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्ती संरक्षण गर्नेहरूबाटै मार्दा कस्तो सन्देश जाला भत्रे प्रश्न गर्छन ।
गत आइतबार नै चितवन प्रशासनले सो हात्तीलाई दीर्घकालीन नियन्त्रणको आदेश दिएको भए पनि निकुञ्जले अझैसम्म हात्ती नियन्त्रणमा राख्न सकेको छैन । निकुञ्ज स्रोतका अनुसार हात्तीलाई नमारिकनै नियन्त्रणमा लिने तयारी गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की दीर्घकालीन नियन्त्रण के हुनसक्छ भत्रेबारे छलफल भइरहेको बताए ।
यसैबीच चितवनको टिकौली मध्यवर्ती सामुदायिक वनले हिजो एक विज्ञप्ति प्रकाशित गरी हात्तीलाई नमार्न आग्रह गर्दै उसलाई प्रजनन केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ ।
त्यसो त यसअघि सामाजिक सञ्जालहरुमा उक्त हात्तिलाई नमारी संरक्षण गर्नुपर्ने माग उठ्दै आएका छन् । तर उक्त हात्तीले अहिलेसम्म १५ जनाको ज्यान लिईसक्दा पनि नियन्त्रण नगरेको भन्दै स्थानीय बासिन्दा तथा राजनीतिक दल कडा रुपमा उत्रिएपछि अहिले सेना तथा वनका कर्मचारी उक्त हात्तीलाई मार्नका लागि खटिएका छन् ।
यसअघि उक्त हात्तीलाई मार्न दर्जनौँ गोली प्रहार गरिएपनि भाग्न सफल भएको थियो ।