मंसिर २१ – यतिबेला कैलालीको टिकापुर वडा नम्बर ८ स्थित मुक्तकमैया शिविरमा रहेको बाबुराम चौधरी परिवारलाई भ्याई नभ्याई छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत कैलालीको टिकापुरमा रहेको मुक्त कमैया शिविरमा बास बस्न जाने भएपछि प्रधानमन्त्रीको स्वागतका लागि उक्त परिवारलाई भ्र्या नभ्याई भएको हो । चौधरी परिवार मात्रै होइन यतिबेला मुक्त कमैया शिविरलाई नै चटारो लागेको छ ।
प्रधानमन्त्री भट्टराई भोली कैलालीको टिकापुर वडा नम्बर ८ स्थित मुक्तकमैया शिविरमा रहेको बाबुराम चौधरीको घरमा बास बस्ने कार्यक्रम भए पछि उनी भने तिन कोठे कच्चीघरमा लिपपोत र अथितीको स्वागतमा मुसाको चटनी, ढिकरी र घोँगी लगायतका थारु परिकार जुटाउन कस्सिएका छन् ।
उनीहरुको परम्परा अनुसार पाहुनालाई स्वागतका लागि मुसाको चटनी दिने चलन रहेकाले प्रधानमन्त्रीलाई पनि स्वागतमा मुसाकै चटनी चखाउने चौधरी परिवारको योजना छ । तर, प्रधानमन्त्रीले भने चटनी चाख्ने हुन् की होइनन् त्यो चाँही भोलि नै थाहा हुनेछ ।
प्रधानमन्त्री भट्टराई भोली धनगढीमा आयोजना हुने सुदुरपश्चिम महोत्सवको उद्घाटन पछि साँझ मुक्तकमैया शिविरमा बास बस्ने कार्यक्रम रहेको तय भएको हो ।
सो अवसरमा शिविरमा रहेका ४ सय ८ जना मुक्त कमैयाको गासवास र कपासको ब्यवस्थाको माग गर्दै प्रधानमन्त्रीलाई ४ सय ८ ढिकरीको माला लगाउने, स्थानीय युवा क्लबले मुक्त कमलरीको पीडामा आधारित नाटक प्रधानमन्त्रीलाई देखाउने र प्रधानमन्त्रीको आगमनमा लाग्ने खर्चका लागि मुक्तकमैयाहरुले ३१ क्विन्टल धान संकलन गरेर रकम जोहो गरेको पनि बताएका छन् ।