काठमाडौं १८ भदौं
अघिल्ला दुई चरणको निर्वाचनमा मतगणना ढिला भएको भनेर चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले यस पटक भने मत गणनाको तालिममा जोड दिएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले यस अघिका निर्वाचनमा मतगणना ढिला भएको गुनासा बढी आएकाले यस पटक त्यसो नहोस् भनेर मतगणना सम्बन्धी तालिमलाई पनि विशेष जोड दिएको जानकारी दिए । आयोगले मत गणना कसरी छिटो गर्न सकिन्छ भनेर धमाधम तालिम सञ्चालन गरिरहेको हो ।
यसैबिच, स्थानीय तह अन्तर्गत तेस्रो चरणको प्रदेश दुईको निर्वाचन तयारी सबै पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले २१ गते उम्मेदवारी दाखिला अगाडीका निर्वाचन आयोगले गर्नुपर्ने सबै तयारी पूरा भएको र मतदाता शिक्षा, तालिम लगायतका काम भने सिलसिलेवार ढंगले अघि बढीरहेको जनाएको छ । ‘निर्वाचनका सबै तयारी पूरा भएको छ,’ आयोग प्रवक्ता नवराज ढकालले भने ।
अब २१ गते मनोनयन दर्ता हुनेछ भने २ असोजमा निर्वाचन मिति तोकिएको छ ।
प्रदेश २ का १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका आगामी २ असोजमा निर्वाचन हुन गईरहेको हो । ती स्थानीय तहका वडा संख्या १ हजार २ सय ७१ रहेको भने कुल ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएको छ । प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली दर्ता गरेका बाहेक कुल मतदाता संख्या २६ लाख ६४ हजार ९ सय ५० रहेको छ ।
यसअघि, पहिलो चरणमा प्रदेश ३, ४ र ६ को वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा र दोस्रो चरण अन्तर्गत १४ असारमा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।
Comments








