मङ्सिर ४ – केही समयअघि भारतको हरियाणाबाट चोरी गरिएको २१ तोला सुनका गरगहना तनहुँको डुम्रे प्रहरीले बरामद गर्न सफल भएको छ ।
नवलपरासी जिल्ला देउराली गाविस– ४ स्थायी घर भई भारतको हरियाणामा चौकीदार काम गर्ने मानबहादुर विकले चोरी गरेर ल्याएको उक्त सुनका गरगहना आइतबार डुम्रे प्रहरीले बरामद गरेको हो ।
उक्त सुन डुम्रे बजारस्थित पोखरेली सुनचाँदी पसलका सञ्चालक राजेन्द्रकुमार सुनारलाई रु पाँच लाख ६८ हजारमा बिक्री गरेको र उक्त सुनको वर्तमान बजार मूल्य करिब रु १३ लाख रहेको तनहुँका प्रहरी प्रमुख देवीबहादुर बोहराले जानकारी दिए ।
भारतको हरियाणास्थित एक घरमा चौकीदार काम गर्दै आएका विकसहित तीन जनाले घरधनीलाई नसालु पदार्थ खुवाएर गरगहना लुटेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।
पक्राउ परेका विक, पोखरेली सुनचाँदी पसलका सञ्चालक सुनार र गरगहनासहित नवलपरासी प्रहरीलाई बुझाइएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । रासस