जिल्ला प्रशासन कार्यालय काठमाडौँले सर्वसाधारणको हितका लागि तिहार एवम् छठमा पटाका, भुइँचम्पा, आतीसबाजीलगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य वस्तुहरुको उत्पादन, आयात, ओसारपसार, सञ्चय, बिक्री–वितरण तथा प्रयोग गर्नेजस्ता कार्य नगर्न सरोकारवाला सबैसँग आग्रह गरेको छ ।

    तिहारको अवसरमा खेलिने देउसी, भैलोलाई मर्यादित एवम् व्यवस्थित रुपमा सञ्चालन नगरी जबरजस्ती गर्ने एवम् राति ११ बजेपछि देउसी भेलो खेल्ने कार्य नगर्न पनि जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

    जिप्रकाद्वारा जारी एक सूचनामा चाडपर्वको मनोरञ्जन गर्ने बहानामा जुवातास खेल्ने÷खेलाउने, म्याद नाघेका अखाद्य वस्तुहरु बिक्री वितरण गर्ने, सर्वसाधारणलाई अत्यावश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव खडा गर्ने, सामाजिक सङ्घसंस्थाका नाममा विभिन्न व्यापार एवम् व्यक्तिहरुबाट चन्दा उठाउने, कानुनले निषेधित गरेको सार्वजनिक स्थानमा मदिरा तथा सुर्तिजन्य पदार्थको बेचविखन तथा सेवन गर्ने कार्य गर्न गराउन पनि निषेध गरिएको उल्लिखित छ ।

    यो सूचनाको बर्खिलाप गर्ने जो कोही व्यक्ति वा समूहमाथि प्रचलित कानुन बमोजिम सजाय हुने जिप्रकाले जानकारी गराएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।