कात्तिक २५ – वर्तमान सरकारले राजीनामा दिएर सहमतिको सरकार निर्माण गर्नुपर्ने माग गरिरहेका विभिन्न विपक्षी दलहरुले आज आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

एमाले पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरेर कांग्रेस–एमालेसहित १९ दलले आज आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
आज सार्वजनिक गरिएको आन्दोलन कार्यक्रममा धर्ना, जुलुस तथा विरोध सभाहरुको आयोजना गरिने लगायतका आन्दोलन समावेश गरिएका छन् ।

आन्दोलनका कार्यक्रमहरूः

१. मंसिर २ गते राजधानीमा नागरिक समाजसँग आन्दोलनको विषयमा अन्तरक्रिया गर्ने ।

२. मंसिर ५ गते व्यापारी, उद्योगपति, अर्थविद् र आर्थिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको भेला गरी बजेट लगायत देशको अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल गर्ने ।

३. मंसिर ८ गते आन्दोलनको तयारीका लागि विपक्षी दलका कार्यकर्ताहरुको उपत्यकास्तरीय बृहत् भेला गर्ने ।

४. मंसिरको दोश्रो हप्ता भित्र आन्दोलनको तयारीका लागि उपत्यका बाहिरका सबै जिल्लामा विपक्षी दलका कार्यकर्ताहरुको संयुक्त भेला गर्ने ।

५. मंसिर ९ गते विराटनगर, १५ गते जनकपुर, २२ गते धनगढी, २३ गते नेपालगंज र ३० गते भैरहवामा र्‍याली र आमसभा गर्ने । नेपाली कांग्रेसले जनकपुर र नेपालगञ्ज, नेकपा (एमाले)ले बिराटनगर र धनगढी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीले भैरहवाको कार्यक्रमको संयोजन गर्ने र अन्य दलले त्यसमा सहयोग गर्ने ।

६. मंसिर १५ गते शुक्रबार १० देखि १२ बजे सम्म पचहत्तरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिने ।

७. मंसिर २९ गते काठमाडौं, झापा, सुनसरी, सप्तरी, सिन्धुली, पर्सा, चितवन, कास्की, पाल्पा, बाग्लुङ्ग, दाङ, सुर्खेत, जुम्ला, डोटी र कञ्चनपुर गरी १५ जिल्लामा जुलुस र विरोध सभा गर्ने । १५ जिल्ला मध्ये झापा, सप्तरी, कास्की, पर्सा, दाङ, सुर्खेत र कञ्चनपुर जिल्लामा हुने कार्यक्रमको संयोजन नेपाली कांग्रेसले गर्ने । सुनसरी, चितवन, पाल्पा, वागलुङ् , डोटी, जुम्ला, सिन्धुली र काठमाडौंको संयोजन नेकपा (एमाले)ले गर्ने ।

माथि उल्लेखित कार्यक्रमहरुसँग नजुध्ने गरि आन्दोलनमा सहभागी राजनीतिक दलहरु तथा विभिन्न जनसंगठन र पेशागत संगठन र पार्टीका जिल्ला तहका संगठनहरुले आˆनै पहलकदमीमा पनि विरोधका विभिन्न कार्यक्रमहरु गर्नसक्ने छन् । आन्दोलनका अन्य थप कार्यक्रमहरु यथासमयमा तय गरी सार्वजनिक गरिनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।