भदौ ३१ – देशका विभिन्न भागमा फैलिएको भाइरल ज्वरोले सयौँ प्रभावित त दर्जनौँ व्यक्तिको निधन भईरहेको अवस्थामा उदयपुरमा भने स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बिरामी झन् मारमा परेका छन् ।

उदयपुर जिल्लाको बेल्टार, बसाहा र रामपुर क्षेत्रमा फैलिएको भाइरल ज्वरोबाट प्रभावित बिरामीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई जिल्लाबाहिर लान बाध्य छन् ।
जिल्लाको पूर्वी भेगको बेल्टार क्षेत्रमा भाइरल ज्वरोको कारण १२ वर्षीय सन्तोष राई र १६ वर्षीय मिलन कार्कीको मृत्यु भएपछि अहिले त्यस क्षेत्रका बिरामीलाई धमाधम जिल्लाबाहिरका ठूला अस्पतालमा लाने क्रम बढेको बताइएको छ ।

भाइरल ज्वरोको प्रकोप झनै बढ्दै जान थालेको र स्थानीय अस्पतालमा उपचार गराउँदा बिरामीको स्वास्थ्यमा सुधार नआएको कारण आफूहरुले अन्यत्र ठूला अस्पतालमा महँगो खर्च गरेर बिरामीलाई बाहिर लान बाध्य हुनु परेको बसाहा क्षेत्रका खगेन्द्र राई र सुवास काकीको भनाई छ ।

केही दिनयता जिल्लाको पूर्वी भेगमा व्यापक रुपमा भाइरलको ज्वरो फैलिन थालेपछि स्थानीयवासीले स्थानीय अस्पताल तथा क्लिनिकमा नै उपचार गराउँदै आएकामा बिरामीको अवस्था झनै जटिल बन्न थालेपछि अधिकांश बिरामीलाई जिल्लाबाहिर लान बाध्य हुनु परेको स्थानीयवासीको भनाई रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।