भदौ ११ – मोरङमा बोक्सो आरोपमा सालोद्वारा आफ्नै भिनाजुको हत्या गरिएको छ ।

महादेवा–५ का अन्दाजी ४५ वर्षीय अमरलाल कोइरीले सोही ठाउँ बस्ने ५० वर्षीय ओभिलाल कोइरीको साउन १४ गते हत्या गरेको खुल्न आएको हो ।
एक्कासी गाउँबाट हराएका ओभिलालको शव साउन २३ गते बोरामा हालेर गाडेको अवस्थामा फेला परेको थियो ।

गाउँमा आलु प्याजको सामान्य व्यापार गरी धामीझाँक्रीको समेत काम गर्दै आएका ओभिलाल लामो समय बिना सूचना हराएपछि उनको घरपरिवार र गाउँमा खोजी भएको थियो ।

त्यसपछि शङ्काको आधारमा प्रहरीमा जाहेरी दिएपछि खोजतलास गर्दा ओभिलालको शव खेतमा गाडेको अवस्थामा फेला परेको राससले उल्लेख गरेको छ ।

सालो अमरलालको योजनामा भिनाजुको हत्या गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले अमरलाललाई पक्राउ गरी कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय सिँजुवाले जनाएको छ ।

हत्यामा संलग्न भएको पोल खुलेपछि महादेवा–५ का फागुनान्द ताजपुरिया, मङ्गलबहादुर ताजपुरिया, तीनताल ताजपुरियासहित पाँचजना फरार रहेका छन् ।

पहिलेदेखि नै भिनाजुसँग रिसईवी राख्दै आएका उनले भिनाजुलाई सार्वजनिकरुपमै एकदिन मार्ने धम्की दिएका थिए । धम्की दिएको केही दिनमै ओभिलाल गाउँबाट एकाएक हराएपछि गाउँलेले समेत अमरलाललाई भिनाजुको हत्या गरेको शङ्का गरेका थिए ।

घटनाको केही दिनअघि भारतको किसनगन्जबाट अमरलालको घरमा नयाँ युवा आएर बसेलगत्तै ओभिलाल हराएका थिए । त्यसपछि उनको व्यापक खोजी गर्दा पनि पत्तो नलागेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।