भदौ १० – कहिले पार्टी पत्रकारिता त, कहिले राजनीतिकारिता जस्ता विषयमा नेपाली पत्रकारिता केन्द्रित भयो भन्ने जस्ता टीका टीप्पणी भईरहेका बेला हास्य कलाकार तथा स्तम्भकार मनोज गजुरेलले भने नेपाली पत्रकारितामा नेगेटिभ चीज बिकाउने प्रथाको अन्त्य हुन आवश्यक रहेको औल्याएका छन् ।
विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान हुने साप्ताहिक अन्तरक्रिया कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरुसँग कलाकार गजुरेलले नेपाली पत्रकारिताले मृत्यु, सेक्स, हत्या हिंसा जस्ता विषयलाई बढी ठाउँ दिएर सुचना र अभिप्रेरणा दिनु भन्दा पनि आफ्नो मिडिया बिकाउने गरेको बताएका हुन् ।
सो कार्यक्रममा उनले पत्रकारिता नयाँ खोजीका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै हरेक कुरालाई नेगेटिभबाट मात्रै उठाउन नहुने तर्क गरे । मृत्यु, सेक्स, हत्या हिंसा चासोका विषय भए पनि आफ्नो मिडिया बिकाउनकै लागि यस्ता विषयको पछाडी मिडिया कुदेको उनको भनाई थियो ।
कार्यक्रममा उनले पत्रकारिता र कलाकारिता दुवैले सूचना सञ्चार तथा मनोरञ्जनको काम गरिरहेको भन्दै यतिबेला दुवैका सामु समाजलाई जातीय सदभावबाट जोगाउनु नै मुख्य चुनौती भएको समेत बताए ।
पत्रकारहरुले आफ्नो संस्थाको सम्पादकीयका आधारमा समाचार सम्प्रेषण तथा लेखन गरेपनि आफू जहिल्यै स्वच्छ भएर लाग्नुपर्नेमा समेत गजुरेलले जोड दिएका छन् ।
विद्यार्थी पत्रकार समूहद्वारा आर आर क्याम्पसमा हरेक शनिबार ७ बजेदेखि ९ बजेसम्म हुने अन्तरक्रिया कार्यक्रममा पत्रकारिताका विभिन्न विषयमा केन्द्रित भएर सम्बन्धित क्षेत्रका वक्ता तथा अतिथि र विद्यार्थीहरुबीच छलफल हुने गर्दछ ।