कान्तिपुरदेखि गोरखापत्रसम्म महिला हिंसाको एक स्टोरी

‘हाकिमहरू सेक्सका बिरामी छन्, तिनको उपचार नगरी जागिर खानै सकिएन’ भनी एउटा ‘अति गोप्य’ भेला (क्लोज क्याम्प) मा कुरा उठेपछि अहिले कान्तिपुर पब्लिकेशन्समा तहल्का मच्चिएको छ । पत्रिका, रेडियो, टेलिभिजनसमेत गरी दर्जनौं महिला सञ्चारकर्मी उपस्थित सो क्लोज क्याम्पमा कान्तिपुरमा काम गर्ने महिलाले सबैभन्दा बढी आनो अफिसका भेद खोले ।
भेद अरुले नै खोले । तर, ‘होचोको मुखमा घोचो’ भनेजस्तो यतिबेला रेडियो कान्तिपुरकी दीपा दाहालको जागिर धरापमा परेको छ । कान्तिपुरमा मात्र हैन, त्यही क्लोज क्याम्पमा जुन-जुन मिडिया हाउसबारे कुरा उठे, ती सबैमा भेलाका आद्योपान्त विवरण पुग्नाले अहिले महिला सञ्चारकर्मीमाझमै विश्वासको संकट परेको छ । ‘क्लोज क्याम्प’ मा नेपालका मिडिया हाउस सेक्सको अखडामा परिणत हुँदै गएका घटना, पात्र र परिस्थितिबारे विस्तृत कुरा उठेको थियो । संगीता लामा अध्यक्ष रहेको डब्ल्युडब्ल्युजे (क्रियाशील महिला पत्रकार) ले ‘सञ्चारगृहमा महिलामाथि हुने यौनजन्य हिंसा र विभेद’ सम्बन्धी अध्ययनका क्रममा आयोजना गरेको ‘क्लोज क्याम्प’ मा ती कुरा उठेका हुन् । तर, त्यहाँ कुरा उठ्नाले समस्याहरू झन् बढेका छन् । र, अहिले पीडित महिला सञ्चारकर्मीका उजुरी ठाउँ–ठाउँमा पुगेका छन् । त्यसमध्ये अधिकांश उजुरी प्रधानमन्त्री कार्यालयस्थित महिला हिंसासम्बन्धी डेस्कमा दर्ज भएका छन् ।

क्लोज क्याम्पमा कान्तिपुरका हाकिमहरूलाई ‘सेक्सका विरामी’ भन्ने महिला पत्रिकातिरकी हुन् । तर, आरोप रेडियोकी दीपालाई लागेपछि उनी आफूमाथि भएका दुईवटा हिंसाका उजुरी बोकेर विभिन्न ठाउँमा पुगिसकेकी छन् । रेडियो कान्तिपुरका समाचार प्रमुख प्रविण अधिकारीले दीपालाई एसएमएस गरी आपत्तिजनक अश्लील शब्दमा यौनप्रस्ताव राखेको टेक्स्ट उनले मोबाइल सेटमा सुरक्षित राखेकी छन् । र, न्याय खोज्न गएका ठाउँमा देखाउने गरेकी छन् । त्यसबाहेक त्यसप्रकारका अन्य एसएमएस पनि सुरक्षित राखेकी छन् । त्यस्तै, रेडियोका प्राविधिक श्रीकृष्ण न्यौपानेले अफिसमा काम गर्दागर्दै आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी पनि बोकेर हिँडेकी छन् । ‘केही महिला सञ्चारकर्मीले राजीखुशीले माथिल्लो ओहोदाका अधिकारीसँग यौनसम्बन्ध राख्ने र तिनैले यौन शोषित हुन नचाहने अन्य महिलाबारे अनेकन कुरा लगाई दुःख दिने’ भनी दर्जनौं उजुरी प्रधानमन्त्री कार्यालयस्थित महिला हिंसासम्बन्धी डेस्कमा पुगेको छ । यसमध्ये गोरखापत्रकी ४५ वर्षीया हरिकला अधिकारीले डब्ल्युडब्ल्युजेमार्फत पाँच पृष्ठ लामो उजुरी दिएकी छन् ।

गोरखापत्रमा उनी अहिले ११ तहकी उम्मेदवार हुन् । उनले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको र त्यस्तो नगर्न अनुरोध गर्दा बालपत्रिका ‘मुना’ मा थन्किनुपरेको गुनासो गरेकी छन् । उता, ‘गोरखापत्रमा कार्यरत स्ट्रिन्जर महिलाहरूको तर्फबाट’ भन्दै प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको छ । ‘स्ट्रिन्जर’, अर्थात् जतिवटा समाचार छापियो, त्यही आधारमा पैसा पाइने पदमा कार्यरत महिलासँग न्युज डेस्कका हाकिमले यौनजन्य व्यवहार चाहने र नपाएमा समाचार नहाल्नेजस्ता समस्या रहेको सो उजुरीमा लेखिएको छ । युवराज गौतमको पालादेखि सुरु भएको यो चलन अहिले सीताराम अग्रहरिको पालासम्म सहनै नसकिने रºतारमा बढेको उजुरीमा छ । त्यस्तो व्यवहार चाहने भनी उजुरीमा ५० कटेका बूढादेखि भर्खरका तन्नेरी सरोज ढुंगेल, भक्त थापासम्मलाई झोसिएको छ । ती स्ट्रिन्जर महिलाले ‘हाकिमहरूसँग घुम्न गएपछि मात्रै समाचार छापिन्छ’ भन्दै गोरखापत्रका केही कर्मचारीले उकास्न खोजेको पनि उजुरी गरेका छन् ।

उता, निजी टेलिभिजन च्यानलमा मौलाएको यौन विसंगतिले सरकारी स्वामित्वको नेपाल टेलिभिजनलाई पनि बाँकी राखेको रहेनछ । त्यहाँको स्टुडियोभित्रै एडिटिङ गर्ने शाक्य र अंग्रेजी समाचार वाचिका एक महिलालाई अन्य सहकर्मीले आपत्तिजनक अवस्थामा भेटाएपछि शाक्यको जागिर नै गयो । सुरक्षा अधिकृतसँग विवाह गर्न लागेकी महिलालाई भने दुई महिना निलम्बन गरी हालै सफाइ दिइएको छ । ‘लय संग्रौला रिटायर्ड भएपछि धेरैका छोरीचेलीले सुखसँग जागिर खान पाउने भए’ भनिएको त्यहाँ अहिले लयको इतिहास बिर्साउनेगरी त्यस्ता गतिविधि मौलाएको डब्ल्युडब्ल्युजेमा चर्चा चल्यो । त्यहाँ ‘जबरजस्ती’ का घटना कम छन् । बरु, उमेर चढेकाहरूले व्यापारी फसाउने प्रतिस्पर्धा गर्दा इमान्दारहरू पनि बद्नाम हुनुपर्ने समस्या रहेको महिला सञ्चारकर्मीमाझ चर्चा छ । उसो त नेपाल टेलिभिजनमा परिवारवादले पनि नराम्रोसँग प्रश्रय पाउँदा क्षमतावान सञ्चारकर्मी पाखा लागेका छन् ।

दुई वर्षदेखि रोकिँदै आएको समाचार वाचिका छनौटको काम हालै सम्पन्न भयो । अंग्रेजी र नेपाली भाषाका गरी नौ जना समाचारवाचिका छान्ने क्रममा गोविन्द धितालकी भान्जी सोफिया न्यौपाने उत्तीर्ण भएकी छन् । ग्लोबल आइएमई बैंकमा जागिर खाने सोफियालाई अहिले टेलिभिजनभरिका मान्छेले ‘भाञ्जी’ भनेर बोलाउँछन् । त्यस्तै, चूडामणि लुइँटेलले भतिजी विभा लुइँटेललाई पनि समाचार वाचिकामा उत्तीर्ण गराएका छन् । उनलाई कार्यक्रम निर्माता बनाउनका लागि अहिले आभाषबाट तालिम गरेको प्रमाणपत्र बनाउन चूडामणि सक्रिय छन् । उनले यसअघि भाइ प्रेमलाई टेलिभिजनमा घुसाइसकेका छन् । यसबाहेक सहायकस्तरका कर्मचारीले पनि यसपटक छोरीहरूलाई समाचार वाचिकाको जागिर खुवाएका छन् ।

रेडियो नेपालको रेकर्डिङ स्टुडियोभित्रै बलात्कार प्रयास भएको भन्दै डब्ल्युडब्ल्युजेको भेलामा त्यहाँ सिसिटिभी राख्नुपर्ने माग उठेको छ । पूर्वकी ढुंगेलकी छोरीलाई लोकेन्द्र ओलीले रेकर्डिङ स्टुडियोभित्रै दुव्र्यवहार गरेको प्रसंगमा सो कुरा निक्लिएको हो ।
– जनआस्था साप्ताहिक

Watch Video


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. लेखनमा लैंगीक संवेदनशिलता हुनुपर्यो । विषयवस्तुको उठान हुनु राम्रो कुरा भए पनि सामग्रीको प्रस्तुति संवेदनशिल भएन । र अझ शीर्षक त आपत्ति जनक नै छ । यौन दुव्र्यवहारको घटना कसरी रोचक भयो ? अनि लभ स्टोरी ? छिः ।

    Comments are closed.