साउन २४ – झापामा आफ्नै दाजु र भतिजाले अंशबन्डाको विषयमा एक जनालाई हत्या गरेका छन् ।

चार दशकदेखि जग्गा अंशबन्डाको झगडाका क्रममा धाइजन–२ मा आफ्नै दाजु र भतिजाको आक्रमणबाट ५५ वर्षीय धनप्रसाद प्रसाईंको मृत्यु भएको हो ।

आक्रमण गरी घाइते बनाइएपछि उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

धनप्रसादलाई शनिबार बिहान खेत जोत्ने विषयमा उनका दाजु मात्रिकाप्रसाद तथा भतिजा पारसमणि र सूर्यले साङ्घातिक आक्रमण गरेको प्रहरीले बताएको छ ।

धनप्रसाद र मातृकाप्रसाद एकै परिवारका दाजुभाइ हुन् । उनीहरूबीच २०२९ सालदेखि पाँच बिघा जग्गाको अंशबन्डा विवाद सुल्झिन सकेको थिएन ।

प्रहरीका अनुसार झगडामा घाइते भएको अवस्थामा धनप्रसादलाई उपचारका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा मात्रिकासहित पारसमणि र सूर्यलाई प्रहरीले सोमबारै पक्राउ गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।