साउन ७ – विराटनगरमा कार्यालयका प्रमुखहरु उपमहानगरपालिकाबीच द्वन्द्व बढेर गएको छ ।
त्यहाँ रहेका कार्यालय प्रमुखहरु विराटनगर उपमहानगरपालिकाविरुद्ध खनिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित कार्यालयप्रमुख बैठकमा सहभागी प्रमुखहरु उपमहानगरपालिकाको लापरबाही र ढिलासुस्तीले कार्यालयहरु वर्षात्मा डुब्न लागेको भन्दै खनिएका हुन् ।
उपमहानगरपालिकाले नाली सफा नगरेका कारण अवरुद्ध हुँदा वर्षात्को बेला कार्यालयमा बाढी झैँ पानी पस्ने र कार्यालयको काममा समस्या पर्ने गरेको बैठकमा उनीहरुले गुनासो गरे ।
पटक–पटक नाली सफा गर्न र फोहर हटाउन नगरपालिकाप्रमुख र फोहरमैला व्यवस्थापन समितिमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएकाले कार्यालय खर्चबाट नाली सफा गर्नु परेको भन्दै कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले आक्रोश व्यक्त गरे ।
एउटा कार्यालयले अर्को कार्यालयको समस्या बुझ्दैन भने सेवाग्राहीको काम कसरी गर्छ ? भन्दै अन्य कार्यालयप्रमुखले पनि आक्रोश व्यक्त गरे ।
बैठकमा उपमहानगरपालिकाका कार्यालयप्रमुखदेखि प्रतिनिधिसम्म कोही पनि उपस्थित थिएनन् ।
|