![]() |
Nepali Movie Muna-Madan |
गाउँले परिवेश त्यो पनि आज भन्दा धेरै वर्ष पहिलेको । गाउँमा एक गरिब परिवार हुन्छन् । जुन परिवारको एक जना मात्रै छोरो साहुको ऋण तिर्न नसकेर पैसा कमाएर ल्याउने ठूलो अपेक्षाको साथ भोट पुग्छ । जे जस्तो तरिकाले भएपनि उसले पैसा कमाएर त ल्याउँछ तर घर आउँदा उसले आफ्नी आमाको अन्तिम सास मात्रै भेट्छ भने आफ्नी प्यारी श्रीमतीलाई उसले देख्न समेत पाउँदैन ।
यो माथिको कथावस्तुहरु तपाई हामी धेरै जसोले नै पढेको तथा सुनेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रख्यात कृति मुना मदनको हो । यस प्रख्यात कृतिलाई नवराज ढकालको निर्माणमा चलचित्रमा समेत उतारिएको छ । त्यसो त यो चलचित्र विभिन्न हलहरुमा लागि पनि सकेको छ ।
सोही क्रममा आज यसै चलचित्रलाई आरक्षण ग्रुप फिल्म एण्ड इभेण्ट काठमाडौँले अनाथ बालबालिकाको सहयोगार्थ च्यारिटी सो गरेको छ ।
च्यारिटी सो विश्व ज्योति हलमा आज बिहान गरिएको हो ।
च्यारिटी सोपछि संयोजक प्रभा महर्जनले यस सो बाट उठेको रकम भोजन गृहमा रहेका अनाथ बालबालिकाको सहयोगमा खर्च गरिने बताइन् ।
करिब दश वर्ष अगाडी निर्माण सम्मन्न भईसकेको यस चलचित्रले विश्व प्रसिद्ध ओस्कार अवार्डको मनोनयमा परेर पहिलो चरण पार गरिसकेको छ ।
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको मुनामदनमा दिपक त्रिपाठी (मदन), र उषा पौडेल (मुना) को भुमिकामा रहेका छन् । त्रिपाठी र पौडेलका अलवा निर शाह, दिनेश डिसी, शिवहरी पौडेल, विजय लामा लगायतका कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् ।
‘सेक्स’ बेचेर ‘के–के न गरेँ’ भन्ठान्ने वर्तमान फिल्मी बजारमा ‘मुनमदन’ मा गरिब नेपालीको कथामात्रै छैन । सहरबजारमै जन्मिएर गाउँ के हो ? गरिबी कस्तो हुन्छ ? नेपाली मौलिकता कुन चराको नाम हो, जाँतो, सिस्नो, ढिँडो, रोपाईं के हो ? भन्नेसम्म थाहा नभएकाहरूका लागि गतिलो ‘पाठशाला’ बन्नेमा दुईमत छैन ।
नेपाली सभ्यताप्रति उत्तिकै सचेत देखिन्छ चलचित्र । ‘व्यापार’का नाममा उच्छृंखलताको ‘हद’ पार गर्दै गएको चलचित्र बजारमा आएको मुनामदन भने शालीनताको अर्को दस्तावेज बन्ने पक्का छ । यद्यपि, चलचित्रमा त्यतिबेला प्रचलनमा रहेका नारीका गहना नौगेडी, छड्के तिलहरीको प्रयोग भने अतिशयोक्ति मान्न सकिन्छ । गरिबीले सर्लक्कै फाटेको मुना ९उषा० को गुन्युचोलीले ‘लाज’को छेउछाउ त के खुट्टाको ऐंडीसम्म देखाइएको छैन । बरु, नेपाली गुन्युचोली, पटुका, दौरासुरुवाल, ढाकाटोपी, जातीय पहिरनको उच्च सम्मान चलचित्रले गरेको छ । गरिबीको पीडामा बाँच्नुको दुर्दिन कस्तोसम्म हुन्छ भन्ने तराजुका रूपमा मदनकी आमा बनेकी सुभद्रा अधिकारी, नायक, दीपक र नायिका उषाले साक्षात् भूमिका पूरा गरेका छन् । सासू र बुहारीको सम्बन्ध ‘आमा र छोरी’भन्दा कम्ती हुँदैन भन्ने जुन पाठ मुनामदनले दिन सकेको छ, त्यो पाठ करोडौँ डलर खर्चने संघरसंस्थाले पनि दिन नसक्लान् ।
मिथिला शर्माको अभिनय पनि कम्ती मार्मिक छैन । गरिबीले ल्हासा पुगेको मदनले देखाएको ‘सुनभन्दा गुन’ महान् हो भन्ने सन्देसलाई न्यायिक किसिमले प्रस्तुत गरिएको छ । भोटबाट फर्कंदा हैजा लागेको
मदनलाई अनकन्टार जंगलमा एक्लै छाडेर हिँड्ने दौतरीको अमानवीय व्यवहार उत्तिकै दर्दनाक छ ।
‘रिकुटे’को भूमिकामा रहेका दिनेश डिसीको चरित्रले अप्ठ्यारामा यौनदुराचार गर्ने समाजको खलचरित्रलाई उजागर गरेको छ । चलचित्रमा मुना र मदनको अप्रत्याशित मृत्यु देखाउँदा भने अलि असुहाउँदो लाग्छ ।
चलचित्रमा मुखिया, साहु, ठालु, ठाकुरहरूको अत्याचारको चरित्रलाई नीर शाहले मदन नभएको बेला मुना र बूढी आमामात्रै घरमा हुँदा गाग्री, ताउली, लोटा, बटुको बटुलेर जस्ताको त्यस्तै उतार्न सकेका छन् । शुभद्रा अधिकारी, रामचन्द्र अधिकारीहरू आमनेपालको प्रतिनिधित्व गर्ने चरित्र छन् । विजय लामा (च्याङ्बा)को अभिनयले दर्शकको दिलमा जातीय सहिष्णुता र मानवताप्रति सम्मानभाव जगाउँछ ।
चलचित्रमा लक्ष्मण शेषको संगीत मात्र होइन, कमल राईको नृत्य, गौतम श्रेष्ठको छायांकन, रवि अर्यालको पटकथा तथा संवादले ७० वर्षअघिको नेपाललाई हामीसामु उभ्याएको छ ।
|