साउन ५ – जीर्ण रहेको लमजुङ कारागार वर्षाका कारण बिहीबार भत्केको छ । वर्षाका कारण कारागारको पूर्वपट्टिको भित्तो भत्किएको हो ।

 विसं. २०३० मा निर्माण भएको कारागार शाखा लमजुङ १० वर्षअघि नै जीर्ण भई भत्केकामा सामान्य मर्मत गरी कामचलाउ बनाइएको थियो ।

केही दिनदेखि लमजुङमा लगातार पानी परिहेको छ । २०६० सालमा भत्किएर पुनः मर्मत गरिएको कारागारको पूर्वपट्टिको भित्तो बिहीबार फेरि भत्किएको प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताएका छन् ।

अहिले भत्किएको कारागारको भित्तोमा तारजाली र जस्तापाताले पर्खालका रूपमा काम चलाइएको छ ।

 कारागारबाट बन्दी भाग्न नपाऊन् भनी सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

भत्केको कारागारको भित्तो शुक्रबारबाटै मर्मत सुरु गरिने प्रजिअ भण्डारीले जानकारी दिनुभयो । ‘घ’ श्रेणीको लमजुङ कारागारमा हाल ३९ जना बन्दी छन् । जबकि कारागार २५ जना रहन सक्ने क्षमताको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।