साउन ५ – नेकपा एमालेले एकल जातीय पहिचानसहितको संघीयताको माग गरिरहेका उपाध्यक्ष अशोक राईसहितका १० जना केन्द्रीय नेतालाई तत्कालका लागि विभागीय जिम्मेवारीबाट हटाएको छ ।

एमाले स्थायी कमिटी बैठकले पार्टी नीतिको उल्लंघन गरेको ठहर गर्दै केन्द्रीय अनुशासन आयोगको सिफारिसमा जिम्मेवारीबाट हटाएको हो ।

जिम्मेवारी खोसिएका नेताले आफ्नो गल्ती स्वीकारेमा पूरानै जिम्मेवारी वा अन्य अरु जिम्मेवारी दिन सकिने पनि बैठकले निर्णय गरेको बताइएको छ ।

स्थायी कमिटीले आयोगले सोधेको स्पष्टिकरण सही भएको ठहर गर्दै उपाध्यक्ष राईलाई जातीय मोर्चा तथा संगठन विभाग इन्चार्जबाट हटाइएको छ । राईको स्थानमा सचिव शंकर पोखरेललाई ल्याइएको छ ।

जनजाति महासंघको इन्चार्जबाट पृथ्वी सुब्बा गुरुङलाई हटाई रघुवीर महासेठलाई ल्याइएको छ ।

जनसांस्कृतिक महासंघको इन्चार्जबाट विजय सुब्बालाई हटाएर प्रदीप नेपाललाई ल्याइएको छ । यस्तै बुद्धिजिवि विभागबाट रकम चेम्जोङलाई हटाएर गोकर्ण विष्टलाई ल्याइएको छ ।

 कारबाहीमा परेका असन्तुष्ट नेताहरु भने पार्टीको निर्णय पछि झन् आक्रोशित भएका छन् । औपचारिक प्रतिक्रिया भने आपसी छलफल गरेपछि सामुहिक रुपमा दिने बताएका छन् ।

 कारबाहीमा परेका नेताहरुले अलग विचार सूमह गठन गरि पार्टीको औपचारिक बैठक तथा कार्यक्रम बहिस्कार गर्दै आएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।