अवैधरुपमा नापतौलको कारोबार गर्ने र समयमा नापतौल यन्त्रको नवीकरण नगराई उपभोक्ता ठगी गर्ने पूर्वाञ्चलका दुई हजार २६७ औद्योगिक एवम् व्यवसायी प्रतिष्ठानलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले कारबाही गरेको छ ।
कार्यालयका अनुसार आव २०६८÷६९ मा पूर्वाञ्चलको १६ जिल्लाको सहरी तथा बजार र ग्रामीण क्षेत्रमा गरिएको अनुगमनबाट नापतौलमा अनियमितता देखिएपछि कारबाही गरिएको हो ।
कारबाहीमा परेकाहरु तरकारी व्यवसायी र किराना पसलदेखि ठूला उद्योगसमेत छन् । कार्यालय प्रमुख शशिभूषण यादवले सीमित स्रोत र साधन भए पनि विभिन्न स्थानमा टोली खटाई चार हजार १५६ व्यवसायी तथा उद्योगीको नापतौल पुनः जाँच नवीकरण गरिएको जानकारी दिए ।
साथै कार्यालयले ६१ व्यवसायीलाई नापतौलसम्बन्धी नयाँ जाँच इजाजतपत्र वितरण तथा एक हजार २२३ व्यवसायलाई नापतौल अनुमतिपत्र प्रदान गरिएको जनाएको छ ।
यसैगरी यस वर्ष पूर्वाञ्चलका २१४ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच गरी अनुमतिपत्र नवीकरण गरिएको छ । ती कारोबारबाट कार्यालयलाई रु १६ लाख ६४ हजार २०० राजस्व सङ्कलन भएको छ । उक्त रकम गत वर्षको तुलनामा अत्यधिक रहेको बताइएको छ ।
|
|








