साउन १ – नवलपरासीको त्रिवेणी सुस्ता गाविस–९ लक्ष्मीपुरस्थित भारतीय गण्डक नहरमा तीर्थयात्रु बोकेको बस खस्दा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

भारत–नेपाल सिमावर्ती झुलनीपुरबाट नवलपरासीको बोलबमधाम त्रिवेणीतर्फ जाँदै गरेको लु१ख २३५६ नम्बरको बस आज दिउँसो गण्डक नहरमा खस्दा ३९ जनाको मृत्यु भएको हो ।

नवलपरासीको त्रिवेणीमा लाग्ने बोलबमधाम मेलाका लागि हिँडेको बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेका थिए ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म चारजना नेपाली र १६ जना भारतीय नागरिकको सनाखत भएको छ । मृत्यु हुनेमा अधिकाशं भारत महाराजगन्ज ठुठीबारी, निचलौल र बरगदवा निवासी रहेका छन् ।

मृत्यु हुनेमा एक नाबालिकासहित १० महिला र २८ पुरुष छन् । यसैगरी घाइते १० जनाको परासीस्थित पृथ्वीचन्द्र अस्पताल र जमुनिया चैपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएका नेपालीहरूमा ठेगाना नखुलेका बसका सहचालक शशी श्रेष्ठ, रूपन्देहीको बनकट्टीका गफुर अन्सारी र ६ वर्षकी बालिका पनीया अन्सारी तथा नवलपरासी बर्दघाटका यशोदा जिसी रहेका छन् ।

यस्तै भारतका बलराम मधेसीया, नरसिंह यादव, निम यादव, नेबुलाल यादव, दशम बनिया, धिरज यादव, दशवती गढेरी, दीपेन्द्र ब्रजातपति, राजु पाल, शानमती, प्रेमी, सुरेश यादव, काँग्रेस यादव, वैद्यनाथ बुल्लु, गोपाल गुप्ता र केशव कुँवरलगायतको पनि दुर्घटनामा मृत्यु भएको छ ।

अन्य मृतकहरूको सनाखत गर्ने क्रम जारी रहेको छ । बसमा रहेका यात्रुको सङ्ख्या यकिन नभए पनि बसमा १०० भन्दा बढी सवार रहेको बताइएको छ । अहिलेसम्म घटनास्थलबाट पाँचजनालाई जिवितै उद्धार गरिएको छ भने बाँकी हराइरहेका छन् ।

बेपत्ताको उद्धारका लागि अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । चालकले मदिरा सेवन गरी बस चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

नवलपरासीको त्रिवेणीस्थित भारतीय सीमा क्षेत्र झुलनीपुरबाट त्रिवेणीधाम आउँदै गरेको तीर्थालु सवार बस नवलपरासी नजिकै गण्डक नहरमा खस्दा सो दुर्घटना भएको हो ।

बस नहरमा खस्दा यात्रुहरूको उद्धारमा कठिनाई भएपछि गण्डक नहरको पानी बन्द गरेर यात्रुहरूको उद्धार कार्य थालिएको छ । नहरमा पानी भएका कारण उद्धारमा कठिनाई भएपछि नहर बन्द गरिएको हो । भारतको उत्तर प्रदेश सिँचाइका लागि लगिएको मुख्य पश्चिम नहरमा बस खसेकाले केही बगाएर गण्डक सुरजपुरा पावर हाउस लगेको आशंकामा खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांश भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका रहेकाले उनीहरूको पहिचानमा समस्या भएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।