असार १ –  आफूलाई बुद्धत्व प्राप्त भएको भनिएका तपस्वी बारा रतनपुरीका रामबहादुर बम्जनलाई कानुन विपरित जन्मदर्ताको सिफारिस गर्ने गाविस सचिव प्रहरी खोरमा पुगेका छन् ।
प्रहरीले सिफारिस दिने रतनपुरी गाविसका सचिव आश मोहम्मद अन्सारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा राखेको हो ।


सचिव अन्सारीले २०६९ बैशाख १३ गते बमजनलाई ‘धर्मसंघ बमजन’को नाममा जन्मदर्तामा सिफारिस दिएका थिए ।
सहमतिबिना जालसाजी गरी कित्र्ते जन्मदर्ता बनाई दिएको जनाउँदै तपस्वीका परिवारले जिल्ला प्रशासन कार्यालय बारामा तीन साताअघि जाहेरी दिएपछि सचिव अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।

बम्जनको परिवारले यसअघि नै रतनपुरी गाविसबाट २०५२ बैशाख ८ गते नै जन्मदर्ता बनाई सकेका थिए ।
तपस्वीका अनुयायीहरुले तपस्वीलाई धर्मसंघ बमजनको नाममा नागरिकता दिनुपर्ने, राज्यले रातो राहदानी उपलब्ध गराउनु पर्ने, निर्वाध ससम्मान विदेश भ्रमण गर्न दिनुपर्ने, हलखोरिया वन क्षेत्रलाई धार्मिक वन दिनुपर्नेलगायतको माग राख्दै सडक अवरुद्ध गरेपछि डुमरवाना पिलुवाका स्थानीयहरूले त्यसको विरोध गर्दै आएका छन् । सो क्रममा त्यहाँ पटक पटक झडपको स्थिति समेत हुने गरेको छ ।


 बम्जनले विगत ७ वर्षदेखि बाराको वनक्षेत्र बिना अनुमति नै वन अतिक्रमण गरी बस्दै आएका छन् । उनी आफूलाई बृद्धत्व प्राप्त भएको भन्ने गरेपनि विभिन्न काण्डमा परेर चर्चामा पनि आईरहन्छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।