Tuesday, August 25, 2026
23.1 C
Kathmandu
Home अर्थ खबर नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सोमबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसको लागि पालिकाको तर्फबाट दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीको तर्फबाट पनि सोही बराबरको रकम गरी प्रति कर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुनेछ ।

सम्झौता अनुसार सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुष्ठ वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउने तथा दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने उल्लेख छ ।

योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी र व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनुपर्नेछ ।कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रकम फिर्ता लिन सक्नेछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।