काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पद नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिको साउन १७ गते बसेको बैठकको निर्णयानुसार खुला प्रतिस्पर्धात्मक परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा सिफारिस गरिएको हो।
सिफारिस गरिएका उम्मेदवारहरूमा कौशल के.सी, सि.ए. नागेन्द्र साह, संजीव कुमार देव रहेका छन् ।
निगमको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि गत असार २ गते सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरिएको थियो। स्वीकृत दरखास्तमध्ये ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ अनुसार मूल्याङ्कन गरी सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।
अब मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये एक जनालाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।




