काठमाडौं । पछिल्लो समय विवादको उच्च शिखरमा रहेको यती एयर समूहका विषयमा नेकपा स्थायी समिति बैठकमा नै भाडभैलो मच्चिएको खुल्न आएको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेपाल ट्रस्टको अध्यक्ष हुन् । उनले पुस ३ गतेको बैठकमा बोल्ने क्रममा गोकर्ण रिसोर्टको जग्गा कानुन अनुसार यती समूहलाई दिइएको दाबी गरेका थिए ।
आफ्नो निर्णयमा बचाउ गरेका उनले सुख भने पाएनन् । उनले त्यसो भन्न साथ माधवकुमार नेपाल, भीम रावल, रघुजी पन्त, पम्फा भुसाललगायतले विरोध जनाई हाले । पोखरेलले त्यसो भनेपछि अन्य नेता उठेर उनी माथि खनिए । अन्य नेताले पुरानो सम्झौता सकिन ६ वर्ष बाँकी छँदै नवीकरण गर्न किन हतार भएको भनेर प्रश्न गरेपछि रातोपिरो बनेका पोखरेलले कानुन अनुसार नै भएको जिकिर गरे । त्यसपछि आक्रोशित देखिएका नेपाललगायतका नेता उठेर आपत्ति जनाए, कडा विरोध भएपछि उनी अलमलमा परे । तर, अहिलेसम्म सरकारले भने यति समूहबारे केही पनि धारणा बाहिर ल्याएको छैन ।




