लकडाउनमा काठमाडौं उपत्यका भित्रनेहरुमा कोरोना संक्रमण देखिएसँगै उपत्यकामा झन् जोखिम बढेको छ । लकडाउनको समयमा पनि उपत्यकामा सयौं भित्रिएको पाइएको छ । उनीहरुको परीक्षण गरिएको छैन भने अलग्गै क्वारेन्टाइनमा समेत बसेका छैनन् । ती मध्ये कतिपयको परीक्षणका क्रममा भने उनीहरुमै कोरोना पुष्टि भएको छ ।
गत ३० वैशाखमा भक्तपुरमा एक जना नर्समा कोरोना पुष्टि भयो । उनी सुनसरीबाट मोटरसाइकल चढेर २९ वैशाखमा उपत्यका भित्रिएको पाइएको छ । उनी उपत्यका भित्रिएपछि कुनै क्वारेन्टाइनमा नबसी भक्तपुरस्थित साथीको कोठामा बसेकी थिइन् । उनले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।
यस्तै, चन्द्रागिरी नगरपालिका मच्छेगाउँमा बस्दै आएकी ३३ वर्षीया महिलामा पनि ३० वैशाखमा कोरोना पुष्टि भयो । उनी २९ गते कञ्चनपुर महेन्द्रनगरबाट काठमाडौं आएको पाइएको छ । उनी पनि उपत्यका भित्रँदा कुनै क्वारेन्टाइनमा बस्नु परेन । श्रीमान्ले कोरोना चेकजाँच गराउन सुझाएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका सतुंगल अमरबस्तीमा बसोबास गर्ने ३० वर्षकी संक्रमित पनि उपत्यका बाहिरबाट आएकी थिइन् । उनी लकडाउनमै काठमाडौंबाट धादिङ र धादिङबाट पुनः २७ जेठमा काठमाडौं आएको पाइएको छ ।
त्यस्तै, चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका ७ वर्षीय बालकमा पनि ३ जेठमा कोरोना संक्रमण पुष्टि भयो । उनी पनि बुवा आमासहित २९ गते मकवानपुरबाट काठमाडौं आएको पाइएको छ । कुनै क्वारेन्टाइनमा बस्न नपरेको उनको परिवार कोठामा बसिरहेको बेला छिमेकीले वडामा खबर गरेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।
यी त कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएका केही उदाहरण भए पनि उपत्यका बाहिरबाट आएकाहरूको परीक्षण कम छ भने उनीहरु क्वारेन्टाइनमा नबस्दा जोखिम बढेको छ ।
यी समाचार छुटाउनु भयाे की ?
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)







