काठमाडौं २० असोज । घ्याङ गुठीको चिनियाँ लामा (पुजारी)मा विवादित भूपतिबज्र लामालाई नियुक्त गर्न खोजिएपछि बौद्धका संघ संस्था तथा स्थानीय आन्दोलित बनेका छन् ।
बौद्धनाथ क्षेत्र गुठी, तामाङ कल्याण गुठी लगायत संघ संस्था तथा स्थानीय अगुवाहरुले योग्य र विवादरहित व्यक्तिलाई घ्याङ गुठीको चिनियाँ लामा (पुजारी) नियुक्ति गर्न भन्दै गुठी संस्थानलाई ध्यानाकर्षण गराएका छन् । बौद्धनाथ क्षेत्र गुठी, तामाङ कल्याण गुठी लगायत संघ संस्थाका विभिन्न व्यक्तिहरुले मंगलबार गुठी संस्थानका अध्यक्ष पुण्य भुसाललाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
गुठी संस्थानले भूपतिबज्र लामालाई बौद्ध घ्याङ गुठीको पुजारी नियुक्ति गर्ने तयारी गरिएको भन्दै उनीहरुले लामा विवादित व्यक्ति रहेको भन्दै उनलाई नियुक्त गरे बौद्धनाथ क्षेत्रमा छिर्न रोक लगाउने चेतावनी समेत दिएका छन् । गुठी संस्थानका अध्यक्ष पुण्य भूसालले भने लामालाई नियुक्ति गर्ने तयारी भइनसकेको बताएका छन् । स्रोतका अनुसार लामालाई नियुक्त गर्ने तयारी भइरहेको छ ।
यसअघि, विश्व सम्पदा बौद्ध स्तुपामा अनधिकृत रुपमा प्वाल पार्न ड्रिल गर्ने जस्ता अपारदर्शी क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै बौद्धका स्थानीय संघसंस्था र बौद्धनाथ क्षेत्र विकास समितिले लामालाई बौद्धनाथमा प्रवेश नै निषेध गरेका थिए । तिनै लामालाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने तयारी गरिएपछि स्थानीय संघ संस्थाका अगुवाले आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । ५ वर्ष अघि उनको नियुक्ति गर्दा पनि विवादित बनेको थियो ।
भूपतिबज्र लामाको बारेमा धेरै विवाद रहेका छन् । उनीसँग विदेशी नागरिकता भएको, नागरिकता सच्याएको, स्वघोषित औतारी लामा बताउँदै हिँडेको, विश्व सम्पदा बौद्ध स्तुपामा जथाभावी ड्रिल गरेको तथा बौद्धनाथ विकास समितिसँग समन्वय नगरेकोजस्ता आरोप छ । उनी पुजारीको काम नित्य पुजा गर्ने रहेकाे बताइएकाे छ । तर ५ बर्षमा अढाई बर्ष हङकङमा बसेका थिए । उनीसँग हङकङ आईडी (नागरिकता) छ ।
विदेशी नागरिकलाई नेपाल सरकारले सरकारी सेवामा निषेध गरेको छ । विदेशी नागरिकता, स्थायी बसोबास अनुमतिपत्र(पीआर) लिएका नेपालीलाई नेपालमा सरकारी सेवामा निषेध गरिएको छ ।
हङकङमा १ वर्षदेखि बसेका भूपतिबज्र लामा पुनः चिनियाँ लामा नियुक्तिका लागि नेपालमा आएर शक्तिकेन्द्रहरूमा साम, दाम, दण्ड भेदको नीतिका लागेका थिए । जति खर्च गरेर भएपनि उनी पुनर्नियुक्तिका लागि लागेका थिए । भूपतिबज्रले गुठी संस्थानका अध्यक्ष पुन्य भुषाल र पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई केही दिन अघि एक पाँचतारे होटलमा भेटेका जनाइएकाे छ ।