काठमाडौँ २० असाेज । सरकारले ‘३८ क्विन्टल सुन तस्करीमा संलग्न’ भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदन बुझाएको ३९ महिना पुगिसक्दा पनि प्रतिवेदनमा उल्लेख गरिएका ‘संलग्न’ व्यक्तिमाथि अनुसन्धान गरिएको छैन ।
समितिका संयोजक पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ वर्षको अवधिमै तस्करीबाट ३८ क्विन्टल सुन भित्रिएको जानकारी दिँदै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए । प्रतिवेदन बुझ्दै ओलीले तस्करीमा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका थिए । ‘प्रतिवेदन सरकारी सम्पत्ति भइसकेको छ, सार्वजनिक गर्ने/नगर्ने कुरा सरकारको हो,’ हाल कोलकातास्थित महावाणिज्यदूत रहेका पौडेलले कान्तिपुरसँग भने, ‘हामीले त सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार गरेर बुझाएका हौं ।’ प्रधानमन्त्री कार्यालयले प्रतिवेदन अध्ययनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।
पूर्वगृहसचिव उमेशप्रसाद मैनाली सुन तस्करीविरुद्ध गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुनुका तीन कारण औंल्याउँछन् । सरकारले आवश्यक ठानेरै त्यसबेला सुन तस्करीसम्बन्धी छानबिन समिति गठन गरेको र त्यसको प्रतिवेदन अपराध अनुसन्धानसँग समेत जोडिएको हुनाले गोप्य राखिएको हुन सक्ने उनले बताए । ‘त्यसको गाम्भीर्य र संवेदनशीलता हेरेर नै बाहिर नल्याइएको हुन सक्छ । असल मनसायबाट सोच्ने हो भने यो सरकारको तजबिजीमा निर्भर रहन्छ,’ उनले भने, ‘तर, सरकारको कार्यशैली र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्ति हेर्दा प्रतिवेदनले सुन तस्कर किटान गरेका व्यापारीलाई मौका पर्दा तह लगाउने अस्त्रका रूपमा प्रयोग गरिएको हो भन्ने शंका पनि गर्ने ठाउँ छ ।’
मैनालीले शंका गरेजस्तै छानबिन समितिको अनुसन्धान अघि बढ्दै जाँदा सत्ता र शक्तिनिकट रहेका कतिपय व्यापारी नै सुन तस्करीमा मुछिएपछि ‘माथिको आदेशमा थप अनुसन्धान रोकिएको’ स्रोत बताउँछ । त्यसपछि बीचमै प्रतिवेदन टुंग्याएर सरकारलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सरकारले नै प्रतिवेदन कार्यान्वयन गर्न नदिएको स्रोतले जनाएको छ ।
दुबईबाट २०७४ माघ ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आएको तस्करीको करिब ३३ केजी सुन ‘नाटकीय रूपमा हराएपछि’ को प्रकरण छानबिन समिति गर्दा एक वर्षमा ३८ क्विन्टल सुन भित्रिएको पाइएको थियो । ३३ किलो सुन हराएको २ सातापछि २०७४ माघ २२ मा विमानस्थलमै सानु बन शंकास्पद रूपमा मृत भेटिएका थिए । विमानस्थलमै ट्यांकरको चक्कामा परेर उनको मृत्यु भएको भनिए पनि बनको हत्या वा दुर्घटनामा मृत्यु भएको भन्ने विश्वस्त आधार खुल्न सकेन । तर उनी सुन ओसारपसारमा प्रयोग भएका भरिया रहेको अनुसन्धान समितिको प्रतिवेदनमा उल्लेख छ । – कान्तिपुरमा समाचार छ ।






