कतै तपाईको पनि एनआईसी एसिया बैंकले यसरी दिमाग त भुटिरहेको छैन ?

ब्लग/टिबी क्षेत्री
कान्छा सिइओ रोशनको चमत्कारः यी १० सूचकमा ‘नम्बर वान’ बन्यो एनआईसी एसिया बैंक, यो सामग्री क्लिकमाण्डु डटकममा गत मंसिरमा प्रकाशित हेर्दा समाचार जस्तै देखिने तर खासमा विज्ञापन हो ।

झण्डै १२ हजारले यसलाई समाचार नै भनेर सेयर गरेका छन् भने कतिपयले कमेन्टमा पनि बधाई दिन भ्याएका छन् ।

खासमा यो समाचार नभएर बैंक आफैंले प्रचारका लागि लेखेर दिएको प्रचार सामग्री हो । जसमा बैंकको गुनगान मात्रै पाइन्छ भने उक्त बैंक एक नम्बरको, राम्रो हो भनेर आफैंले आफैंलाई दाबी गरिएको छ । अझ रमाइलो त के छ भने बैंक आफैंले आफ्नो बारेमा लेखेको विज्ञापन सामग्रीलाई समाचारको रुपमा छाप्न लगाएर १० सूचकमा नम्बर वान भनेर दाबीे छ ।

पत्रकारितामा विज्ञापनलाई समाचारको रुपमा दिन नहुने नियम छ । यसो गरिएमा आचारसंहिताको उल्लंघन भएको मानिन्छ । तर, एनआईसी एसियाले भने ‘अवैध प्रचार’ अर्थात आचार संहिता विपरित हुने गरी विज्ञापनलाई समाचारको रुपमा प्रकाशन गर्न दबाब दिएर पाठकलाई भ्रमित पार्ने सामग्री प्रकाशन प्रसारण गर्दै आएको पाइएको छ ।

एनआईसी एसिया बैंकको यस्ता इथिक विपरितको प्रचार पछिल्ला दिनमा ह्वात्तै बढेर गएको पाइएको छ । समाचार जस्तै गरेर विज्ञापन दिनु परेमा देखिने गरी विज्ञापन भनेर दिनुपर्ने नियम भएपनि एनआईसी एसिया बैंकको दबाबमा मिडियाले समेत विज्ञापन भनेर नदिने गरेको पाइएको छ ।
रातोपाटीले केही दिन अघि मात्र ‘जोशिला र गतिशील युवाको नेतृत्वमा एनआईसी एशिया बैंकको आश्चर्यजनक रुपान्तरण’ शिर्षकमा विज्ञापनलाई समाचारको रुपमा प्रकाशित गरेको पाइएको छ ।

यस्तै, नेपालखबरले पनि ‘एनआईसी एशिया मो–ब्यांक स् १२ लाख बढी डाउनलोड हुने नेपालको एक मात्रै मोबाइल बैंकिङ एप’ शिर्षकमा समाचारलाई विज्ञापनको रुपमा छापेको पाइएको छ ।

यता, अनलाइनखबरले समेतएनआईसी एशिया बैंकमा खाता खोलेमात्रै यति धेरै सुविधा १’ भन्दै समाचारको रुपमा विज्ञापनजन्य सामग्री छापेको पाइएको छ ।

यी त केही उदाहरणहरु मात्र हुन् । आफूलाई एक नम्बरको बैंक भनेर प्रचार गर्दै आएको एनआईसी एसिया बैंकले पछिल्लो समय पाठकलाई भ्रममा पार्ने गरी लगातार रुपमा विज्ञापनलाई समाचारको रुपमा पत्रपत्रिका तथा अनलाइनहरुमा प्रकाशन गर्दै आएको छ ।
सञ्चारमाध्यम समेत पैसा आउने भएपछि पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत तिलाञ्जली दिन पछि परेका छैनन् । उनीहरुले पैसा आउने भएपनि विज्ञापनलाई समेत समाचार भनेर पाठकलाई ठगिरहेको पाइन्छ ।

कान्तिपुर अनलाइनले पनि यस्तै सामग्री केही समय अगाडी हालेको थियो । उसले होमपेजमा एडभोर्टरियल भनेर पत्रकारिताको सिद्धान्तलाई मर्न दिएन । तर, क्लिक गरेपछि भने विज्ञापन र समाचार छुट्याउन नसकिने गरी पोष्ट गरेको थियो ।

एनआईसीको रणनीति विज्ञापन नदिने, समाचार छाप्नेलाई पैसा दिने

गत वर्षसम्म एनआईसी एसियाले विज्ञापन नै दिने गरेको थियो । यो पटक भने उसले विज्ञापन नदिने तर ‘प्रोमोशनल कन्टेन्ट’ अर्थात बैंकको प्रचार हुने गरी गुनगानमा लेखिएका सामग्री छाप्नेलाई पैसा दिन थालेको छ ।
एक अनलाइनमा मार्केटिङ हेर्ने एक जना अधिकारी एनआईसी एसिया बैंकले विज्ञापन नदिएको तर कन्टेन्ट वाइज विज्ञापन दिँदै आएको बताउँछन् । त्यस्ता सामग्री बैंक आफैंले लेखेर दिने गरेको बताइन्छ ।

प्रेस काउन्सिलको ध्यान पुगेन

मिडियाको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएपनि यो विषयमा भने ध्यान नपुगेको पाइएको छ । काउन्सिलले विज्ञापनलाई समाचारको रुपमा प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यममाथि कारबाही गर्ने अधिकार रहेपनि अहिलेसम्म एनआईसी एसियाको विज्ञापनको विषयमा काउन्सिलको ध्यान नपुगेको पाइएको छ ।

पत्रकारिता क्षेत्र नै बदनाम हुने चिन्ता

पैसाको लोभ लालचमा नाम चलेकै मिडियाले धमाधम विज्ञापनलाई समाचारका रुपमा दिन थालेपछि पत्रकारिता पेशाकै बदनाम हुने चिन्ता समेत बढेको छ । मिडिया आफैंले बैंक एक नम्बरको भन्दै दाबी गर्ने, चमत्कारको संज्ञा दिने जस्ता कार्य गर्दा क्षणिक रुपमा बैंकको प्रचार राम्रै हुने र मिडियालाई आम्दानी पनि राम्रै आएपनि सर्वसाधरणको सञ्चारमाध्यमप्रतिको विश्वास भने गुम्दै जाने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।