काठमाडौं १६ माघ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतरीभित्र अध्यक्ष गणेश बस्नेत र महासचिव राजेश राईबीच फेसबुक युद्ध उत्कर्षको पुगेको छ । केही दिन अघि बस्नेतले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्छन् । राजेश राईको घोषणा भन्दै लेखिएको स्टाटस यस्तो छ ‘हेल्लो प्रेस चौतारीको अध्यक्ष गणेश बस्नेत, तँ त एमाले र केपी ओलीको दलाल रहिछस्, म महासचिव हुँ, म त प्रचण्ड, जुगल र योगेशको खास मान्छे हुँ, तँ त केपी ओली र एमालेको खास मान्छे रहेछस् । अब मलाई केही नभन्नु, म प्रेस चौतारीको नाममा केही पनि गर्न दिन्न, मत माधव नेपालको खास मान्छे हुँ बुझिस् । माधव कमरेडले तेरो संगठन सकाउन मलाई पठाएको हो ।’
अध्यक्ष र महासचिवको वाकयुद्ध यतिकैमा सकिदैन । त्यहीँ स्क्रिनसट राख्दै राईले पनि अध्यक्ष ज्यूले सार्वजनिक खपतको निम्ति गर्नु भएको काल्पनिक ‘इमोसनल ब्लाकमेलिङ’ ले संगठनलाई माया गर्ने धेरै कर्मठ साथीहरुको भावनामा परेको चोटप्रति माफी माग्दै अध्यक्षको खण्डन गरेका छन् ।
अध्यक्ष र महासचिवको वाकयुद्धपछि चौतारीका नेता कार्यकर्ताले कसैले अध्यक्षको सपोर्ट लिँदै महासचिवको चर्को आलोचना गरेको पाइएको छ । कतिपयले भने महासचिवले त्यस्तो भन्न नपर्ने भन्दै अध्यक्षमाथि नै प्रश्न उठाएको समेत पाइएको छ । दुवै जनाले अहिले एकअर्काप्रति लक्षित गरेर केही पनि नलेखेकाले अहिलेलाई भने अध्यक्ष महासचिवबीच फेसबुक युद्ध स्थगित देखिएको छ ।








