काठमाडौँ — सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको विशेष बैठकले नेपाल फर्किन चाहनेका लागि जहाज पठाउने निर्णय गरेको हो ।
अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरू नेपाल आउन चाहेमा सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्ने छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने छ । अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ ।






