काठमाडौं । सर्वोच्च अदालतको परमादेश लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सजाय मिनाहा पाएका रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । बाँकेको न्यूरोड क्षेत्रबाट रिगल पक्राउ परेका हुन् । इजलासले रिगललाई पुनः पक्राउ गरी कारागार चलान गर्न परमादेश दिएको थियो।
गत ३ असोजमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनको कैद मिनाहा गरेका थिए । कैद मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका रिगल कैदमुक्त भएका थिए ।
त्यसपछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै रिगललाई बाँकी रहेको कैद सजाय दिन भनेको थियो ।
रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।