काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा नै उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने सत्तारूढ कांग्रेस आवद्ध नेपाल विद्यार्थी संघका ६ जना नेता कार्यकर्ताले २ वर्ष जेल सजाय बस्नुपर्ने भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई २ वर्ष कैद सजाय सुनाएको हो । साढे ३ वर्षअघि भएको घटनामा न्यायाधीश विनोद खतिवडाको इजलासले हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, सयुज श्रेष्ठ र नीरज रानामगरलाई ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गर्दै । उनीहरू सत्तारूढ कांग्रेस आवद्ध नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए ।

आचार्य तत्कालीन त्रिवि नेविसंघ सभापति र रावल सचिव थिए । उनीहरूबाट उपचार खर्चबापतको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश भएको अदालतले जनाएको छ । ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । आरोपितमध्ये दीपकराज ओझाले भने सफाइ पाएका छन् ।

सोही मुद्दामा श्रेष्ठ थुनामा छन् भने अन्य आरोपितले अदालतको तारेख गुजार्दै आएका थिए । आचार्य अमेरिका र रानामगर भने हाल अस्ट्रेलिया भागिसकेको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।