एनसेलको अवैध धन्दाः ग्राहकलाई थाहै नदिई यसरी ठगियो १ अर्ब ११ करोड

काठमाडौं १४ मंसिर । एनसेलबाट मुख्य लगानीकर्ताको रुपमा रहेको मलेसियाको अजियाटा कम्पनी बाहिरिने निर्णयसँगै एनसेल एक पटक फेरि चर्चामा आएको छ ।

यहीँ एनसेलले भने अवैध ढंगले आफ्ना ग्राहकको करिब एक अर्ब ११ करोड रुपैयाँ ठगी गरेको छ । अवैध ढंगबाट ग्राहकको ठगी गरेपछि एनसेल नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणकाे कारबाहीमा परिसकेकाे छ।

एनसेलले आफ्ना प्रयोगकर्तामाथि २०७५ असोज १५ गतेदेखि ०७७ जेठ १८ सम्म ग्राहकसँग स्वीकृत नै नलिई स्वतः नविकरणको नाममा ‘गेमलफ्ट र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकमाथि अर्बौं असुली गरेर ठगी गरेको हो ।

नेपालमा कर छलि गरेर पटक–पटक विवादित बनेको एनसेलले ग्राहकमाथि विभिन्न बहानामा ठगी गर्दै आएको आरोप लाग्दै आएकोमा पछिल्लो पटक एक अर्ब ११ करोड रुपैयाँ ठगी गरेको पुष्टि हुन आएको हो । नेपाल दुरसञ्चार प्राधिकरणले ग्राहकको मोबाइलबाट रकम ठग्ने एनसेललाई कारबाही गर्दै पैसा फिर्ता गर्न निर्देशन दियो भने ग्राहकबाट रकम ठगी गरेबापत ५० हजार जरिवाना समेत गरेको छ ।

प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई प्रयोगकर्ताको अनुमति बिना सेवा दिएर एक अर्ब ११ करोड रुपैयाँ ठगि गरेको ठहर गरेको उल्लेख छ । २०७८ मा बसेको बोर्ड बैठकले एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ तीन महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो ।

एनसेलले करबाहेक नै एक अर्ब ११ करोड ३७ लाख रुपैयाँ प्रयोगकर्ताहरुबाट ठगी गरेको हाे । त्यसपछि २०७८ मा कारबाही किन नगर्ने भन्दै प्राधिकरणले स्पष्टिकरण सोधेकोमा पुन एनसेलसँग स्पष्टिकरण माग गरेको थियो । एनसेलले जवाफदेहिता देखाउनुको सट्टा तेस्रो पक्षलाई देखाएर आफू पञ्छिन खोजेको थियो ।

‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको ठहरमा भनिएको छ ।

ग्राहकले फिर्ता कहिले पाउने ?
दूरसञ्चार प्राधिकरणले एनसेललाई १५ दिन भित्र गेमलफ्ट र हुवावे एप ग्यालरी नामको सेवाको अटो रिन्यु प्याकको २०७७ जेठ १८ देखिको विवरण १५ दिन भित्र विवरण बुझाउन प्राधिकरणको निर्देशन दिएको थियो । त्यस्तै गेमलफ्ट र हुवावे एप ग्यालरी नामको एप ७ दिन भित्र विद्युतिय माध्यमबाट बस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्याविधि २०७६ को दफा ५ को ४ (क) बमोजिम हुनेगरि सञ्चालन गर्न निर्देशन दिएको थियो । अन्यथा यो सेवा ७ दिन भित्र बन्द गरि प्राधिकरणलाई जानकारी दिन निर्देशन छ ।


तर एनसेलले अहिलेसम्म ग्राहकको रकम फिर्ता गरेको पाइएको छैन । मुख्य लगानीकर्ता अजियाटा नेपाल छाडेर बाहिरिन लाग्दा पनि अवैध ढंगबाट उठाइएको आफ्नो रकम ग्राकहले पाउन सकेका छैनन् । प्राधिकरणले भने कारबाहीको निर्णयको विरुद्ध अजियाटा पुनरावेदनमा गएका कारण उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।