Saturday, August 22, 2026
25.1 C
Kathmandu
Home ब्यानर सडक नबनाई अलपत्र पारेपछि कांग्रेस जिल्ला सभापति प्रधानमन्त्री कार्यालयको कालोसूचीमा

सडक नबनाई अलपत्र पारेपछि कांग्रेस जिल्ला सभापति प्रधानमन्त्री कार्यालयको कालोसूचीमा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरु र सरकारमा सहभागी मन्त्रीहरु दिनरात सुशासन र विकासका कुरा गरिरहेका हुन्छन्, त्यहीँ पार्टी नेपाली कांग्रेसका डोल्पा सभापति दिपेन्द्र बहादुर शाही भने बर्षौसम्म सडक निर्माण नगरी अलपत्र पारेका कारण प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका छन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पाँचथरको विभिन्न सडकखण्ड समयमा नै निर्माण नगरी अलपत्र पारेपछि शाही र उनको निर्माण कम्पनी सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लि तीन वर्षका लागि कालोसूचीमा परेको छ ।

पुष्पालाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम, पाँचथरको सिफारिसमा प्रधानमन्त्री अन्तर्गतको कार्यालयले उक्त निर्माण निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो भने कार्यालयकै सिफारिसमा अर्को सडकखण्ड पनि अलपत्र पारेपछि दुई वर्षका लागि पनि कालोसूचीमा राखिएको छ ।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुमा भारत कन्स्ट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रा.लिका मुख्य व्यक्ति मदन कुमार अधिकारी, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लिका मुख्य व्यक्ति दिपेन्द्र बहादुर शाही रहेका हुन् । भारत कन्स्ट्रक्सन, मैनाचुली र सिद्धिसाईले नै मध्यपहाडी राजमार्ग अन्तर्गतकै खोटाङको सेखुवा-चखेवा सडकखण्ड निर्माणको ठेक्का लिएकोमा वर्षौसम्म पनि निर्माण नगरी अलपत्र पार्दै आएको छ ।

खोटाङको सेखुवा-चखेवा सडकखण्ड
खोटाङको सेखुवा-चखेवा सडकखण्ड

सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त सडकखण्ड अलपत्र पारेपछि कालोसूचीमा राखेर ठेक्का तोडेको थियो । तर, अदालतले कार्यालयको निर्देशन खारेज गरेपछि पुनः उक्त निर्माण कम्पनीकै जिम्मामा परेपनि अहिले पनि उक्त सडकखण्डमा कामले गति लिन सकेको छैन ।

लामो समयसम्म निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि स्थानीयहरु भने निर्माण कम्पनीसँग आक्रोशित बन्दै आएका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।