घाटैघाटामा रहेको रिपब्लिक (नागरिक दैनिक) मिडियाको सेयरमा सर्वसाधरणको लगानी खतरामा

काठमाडौं । नागरिक दैनिक र अंग्रेजी माईरिपब्लिका सञ्चालन गर्दै आएको नेपाल रिपब्लिक मिडिया (NRM)को सेयर दिनदिनै पोजेटिभ सर्किट अर्थात १० प्रतिशत बढीरहेको छ ।
कम्पनीको सबै आर्थिक सुचांकहरु ऋणात्मक अर्थात घाटामा रहेपनि चलखेलका कारण रिपब्लिक मिडियाको सेयर दिनदिनै १० प्रतिशतले वृद्धि भइरहेको हो । यसरी घाटामा रहेको कम्पनीको सेयरमा अनावश्यक चलखेल गरेर सुरुमा बढाएर महँगोमा सर्वसाधरणलाई भिडाएर सेयर बजारका खेलाडीहरु भाग्ने सम्भावना बढेको छ । यसले सर्वसाधरणको लगानी नै फस्ने सम्भावना समेत बढेर गएको छ ।

कम्पनी घाटामा रहेका कारण कम्पनीले सेयरधनीलाई यो वर्ष त हैन आगामी धेरै वर्षसम्म लाभांस दिनसक्ने अवस्था छैन । तर, नेप्सेमा भने कम्पनीको सेयर दिनदिनै उकालो लागिरहेको छ । नेपाल रिपब्लिक मिडियाको सेयर साउन तेस्रो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएकाे थियो । नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि ८४ रुपैयाँ ४७ पैसादेखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ रेञ्ज तोकेको थियो ।
पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि त्यसको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञ्ज तोक्ने गर्छ । कम्पनीको ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।

घाटैघाटामा कम्पनी
सेयर बजारमा बुधबार उक्त कम्पनीको प्रतिकित्ता सेयर ३८ अंक बढेर ४२४.७० पुगेको छ । तर, प्रतिसेयर आम्दानी (इपिएस) अर्थात उक्त कम्पनीको एक कित्ताले कमाउने रकम भने माइनसमा रहेको छ । यस अर्थमा उक्त कम्पनी कसैले १ सय रुपैयाँमा किन्छ भने उसले पाउने प्रतिफलमा घाटा सहनुपर्छ । इपिएसलाई एक वित्तीय सूचकको रुपमा लिइन्छ भने जसले कम्पनीको नाफा मापन गर्दछ । अर्कातिर कम्पनीको पि.ई रेसियो पनि माइनस ८३ भन्दा माथि पुगिसकेको छ । यसले लगानीकर्ताहरूलाई आफ्नो आम्दानीको तुलनामा स्टक कति महँगो छ भनेर मूल्याङ्कन गर्ने गर्दछ ।
कम्पनीले आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासिक अवधिको प्रतिवेदन सार्वजनिक गरेको थियो । लेखा परीक्षण नभएको भनिएको प्रतिवेदनमा प्रतिसेयर आम्दानी माइनस १.४६ रहेको छ । कम्पनीकै प्रतिवेदन अनुसार प्रतिसेयर नेटवर्थ ८४.४७ रहेको छ । कम्पनिले नै सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चुक्ता पुँजी ९६ करोड ७५ लाख रहेको छ । कम्पनिको रिटेन्ड अर्निङ ५२ करोड २० लाख ऋणात्मक छ । सर्वसाधरणबाट ४३ करोडभन्दा बढी रकम उठाएको यो कम्पनीको दोस्रो बजार नेप्सेमा चलखेलका कारण सर्वसाधरणको लगानी भने दिनदिनै जोखिममा छ ।

कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन ।

सर्वसाधरणको लगानी फस्ने खतरा
कम्पनीको वित्तिय विवरण अत्यन्तै खराब रहे पनि नेप्सेमा चलखेल गरेर कम्पनीको सेयर उचाईमा पुर्याउँदा सर्वसाधरण भने फस्ने जोखिम बढेर गएको छ । रिटेन्ड अर्निङ, इपिएसलगायत सबै सुचक घाटामा रहेको कम्पनीको प्रति कित्तालाई ४ सय भन्दा बढी रकम लगानी गर्नु सरासर जोखिम भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । ‘इपिएस माइनस ११ रहेको कम्पनीलाई एक सय पनि हाल्न उपयुक्त हुन्न, अहिले ४ सय माथि हाल्नु भनेको मुर्खले मात्रै हो ।’ एक लगानीकर्ताले भने ।
ठूला तर कतिपय लगानीकर्ताले रिपब्लिकको सेयर होल्ड गर्ने र महँगोमा सर्वसाधरणलाई भिडाउने खेल भइरहेको सेयर बजारमा चर्चा छ । ‘यस्तो बेला सर्वसाधरणले बृद्धि पुर्याएनन् भने फस्छन्’, ती लगानीकर्ताले भने ।

बेवसाइट बन्द
घाटामा रहेको रिपब्लिक मिडियाको बेवसाइट पनि बन्द भएको छ । मंगलबारसम्म सञ्चालनमा रहेको बेवसाइट बिहीबारदेखि बन्द रहेको छ । उक्त कम्पनीको बेवसाइट खोल्दा फरबिडेन लेखिएको छ । बेवसाइटमा कम्पनीको वित्तिय विवरणहरु उल्लेख रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।