काठमाडौ। प्राविधिक कारण आपतकालिनपछि उडान गर्न खोजेको श्री एयरलाइन्सको जहाजमा पुनः यात्रा गर्न यात्रुहरुले अस्वीकार गरेका छन् ।

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको २२२ जहाज पोखरामा आपतकालिन अवतरण भएको थियो । बिहान १० बजे धनगढीबाट उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो ।

इन्डिकेटरमा समस्या देखिएका कारण काठमाडौं उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको हो । अवतरणपछि इन्जिनियरद्वारा प्राविधिक चेकजाँच भएको थियो ।
त्यसपछि उक्त जहाज काठमाडौं उडान भर्न खोजेपनि धनगढीबाट आएका यात्रुले भने मानेनन् । यात्रुहरुले उक्त विमानमा यात्रा नगर्ने भन्दै अर्को विमानमा मात्र यात्रा जनाए । धनगढीबाट आएका यात्रुहरुले उक्त जहाजमा यात्रा गर्न नमानेपछि उक्त जहाज पोखराका यात्रु लिएर काठमाडौं उडेको थियो ।

एक साताअघि पनि धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपतकालीन अवतरण भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।