काठमाडौं । गर्मी बढेसँगै संसारका केही क्षेत्र डेंगीको चपेटामा पर्न थालेका छन् । ल्याटिन अमेरिका र क्यारेबियन देशमा डेंगीको संक्रमणले महामारीको रूप लिन थालेको छ ।

अवस्था यतिसम्म भयावह बनेको छ कि डेंगी नियन्त्रणका लागि सेना नै प्रयोग गर्नुपरेको छ । क्याम्प बनाउन र बिरामीलाई पुर्‍याउन सेना खटिएका छन् । चार महिनाभित्र ६० लाखभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।

यसलाई ग्लोबल वार्मिङसँग जोडेरसमेत हेर्न थालिएको छ । डेंगीबाट ब्राजिल सबैभन्दा बढी प्रभावित बनेको छ । यहाँ जनवरीदेखि अप्रिलसम्म सवा ४ लाखमा डेंगी देखिएको छ । यो कुल जनसंख्याको १।८ प्रतिशत हो । हालसम्म २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलका २६ राज्यमध्ये केहीमा संकटकाल घोषणा गरिएको छ । अस्पतालमा बिरामी राख्न असम्भव भएपछि सेनाले विभिन्न फिल्ड अस्पताल बनाइसकेका छन् । राजधानी ब्रासिलियासहितका क्षेत्रमा अस्पतालमा ठाउँ नभएपछि बिरामीलाई सेनाले बनाएका अस्थायी क्याम्पमा उपचार गरिँदै आएको छ । यतिबेलै अवस्था भयावह बनेपछि डेंगी फैलिने सिजन मे(जुनसम्म अवस्था थप बिग्रिने खतरा छ ।

डेंगीकै कारण पेरुमा संकटकाल घोषणा गरिएको छ । यहाँ चार महिनामा डेढ लाखमा डेंगी भेटिएको छ भने ११७ जनाको मृत्यु भएको छ । अर्जेन्टिना, मेक्सिको, उरुग्वे र चिली पनि डेंगी प्रभावित बनेका छन् । जलवायु परिवर्तनका कारण प्रकोप फैलिएको अनुमान गरिएको छ । पछिल्लो ३० वर्षदेखि ल्याटिन अमेरिकी क्षेत्रमा तापमान हरेक दशकमा ०।२ डिग्री सेल्सियसको दरले बढिरहेको छ । जलवायु परिवर्तनले गर्मीसँगै डेंगी फैलाउने लामखुट्टेसमेत बढेका छन् ।

लामखुट्टेका धेरै प्रजाति गर्मीसँगै बढ्ने भएका कारण ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र बढी प्रभावित बनेका छन् । यहाँ चिसो मौसममा पनि तापक्रम १५ डिग्रीभन्दा कम हुने निकै कम क्षेत्र बाँकी रहेका छन् । ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा डेंगीको नियन्त्रणका लागि खोप अत्यावश्यक भइसकेको छ ।

तर, संक्रमित मानिसमा १० दिनसम्म लक्षण नदेखिने र संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिमा फैलाइसक्ने भएकाले खोपमा प्राक्टिकल समस्या देखिएको छ । अर्कोतिर डेंगीका चार प्रकार हुन्छन् । जब एक प्रकारको डेंगी ज्वरो नियन्त्रण गर्न खोप दिइन्छ भने अन्य तीन प्रकारका डेंगी ज्वरो आउने सम्भावना रहन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।