काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्ने हितेन्द्रदेव शाक्यको योजना समाप्त भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सोमबार पनि सुनुवाइ नभएपछि कुलमानलाई हटाएर प्राधिकरण प्रवेश गर्ने शाक्यको योजनामा पूर्णबिराम लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी रहेको मुद्दा १२ औँ नम्बरमा भए पनि सुनुवाइ भएन । दुवै न्यायाधीशको एकल इजलास पनि भएका कारण साेमबार हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।
शाक्यको पदावधि पाँच दिनमात्र बाँकी रहेको हुँदा सर्वोच्चले पुनः पाँच दिनमा पेसी राखेर सुनुवाइ गरी फैसला गर्ने सम्भावना नभएका कारण शाक्यको प्राधिकरण फर्कने योजनामा पूर्ण बिराम लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति र आफूलाई हटाउने निर्णय विरुद्धको मुद्दामा सुनुवाइको आशा बोकेर शाक्य सुरुमा २०७८ भदौ १ गते सर्वोच्च पुगेका थिए । चार वर्षदेखि शाक्य सर्वोच्चमा मुद्दा लडिरहे पनि उनी अवकाशमा जाँदासम्म सर्वोच्चबाट फैसला आउन नसकेको हो ।