काठमाडौं २७ माघ । नेकपा एमालेका नेता शंखर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग कार्यकर्ताको मन जोडेर बलियो कम्युनिष्ट आन्दोलन (पार्टी) निर्माणको प्रस्ताव गरेका छन् ।
नेता पोखरेलले पुनलाई फोन गरेर यस्तो प्रस्ताव गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पारेका हुन् । उपमहासचिव पुनसँग टेलिफोनमा गरेको कुराकानीको विषय वास्तविक भन्दा फरक ढंगले प्रस्तुत गरेको भन्दै आपत्ति जनाउँदै लेखेको स्पष्टमा यस्तो उल्लेख छ ।
फेसबुक स्टाटसमा भनिएको छ ‘जहाँसम्म राजनीतिक ध्रुविकरणका सन्दर्भमा त्यसप्रति नेकपा (एमाले)को नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अब पुनः त्यही काम गर्नु उचित हुदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ । जहाँसम्म राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई सम्वैधानिक र कानूनी रुपमा निषेध गर्नु होइन र त्यसो गरिने पनि छैन । बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक धुविकरणको बाटोबाट हासिल गरिने विषय हो ।’ हेर्नुहोस् नेता पोखरेलको स्टाटसको पूर्ण विवरण
